एजेन्सी, असोज २९ । विज्ञापन ऐन २०७६ को व्यवस्थाअनुरूप ८ कात्तिकदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा क्लिनफिड लागू हुने भएको छ ।

गत वर्ष संसद्बाट पारित विज्ञापन ऐनको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ ।

पहिल्यैदेखि प्रसारणमा रहेका टेलिभिजन च्यानलहरूले एक वर्षभित्र क्लिनफिड लागू गर्नुपर्ने व्यवस्था पनि सो दफामा छ । सोहीअनुरूप विज्ञापन ऐन लागू भएको एक वर्षपछि ८ कात्तिकपछि क्लिनफिड लागू हुने भएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार नै विदेशी च्यानललाई विज्ञापनरहित (क्लिनफिड) बनाउन प्रसारक संस्थाहरूलाई निर्देशन दिएको छ । विज्ञापन ऐनमा भएको व्यवस्थाअनुरूप क्लिनफिड लागू नगर्ने संघ तथा संस्थालाई कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ । 

अन्तर्राष्ट्रिय अभ्यासअनुसार कुनै पनि मुलुकमा प्रसारण हुने विदेशी च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्न पाउँदैनन् । तर, नेपालमा भने यसअघि क्लिनफिडसम्बन्धी कानुनी व्यवस्था नभएका कारण विदेशी च्यानलहरूले कार्यक्रमका साथमा विज्ञापन पनि प्रसारण गर्दै आएका छन् । 

विज्ञापन ऐनविपरीत प्रसारक संस्थाहरूले विदेशी च्यानलमा विज्ञापन प्रसारण गरेमा ५ लाख रुपैयाँ जरिवाना र १ वर्षसम्मको सजाय गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले बताए ।

साढे चार महिना समय थप्न केबल अपरेटरको आग्रह

नेपालमा क्लिनफिड लागू गर्न साढे चार महिना थप गर्न नेपाल केबल टिभी महासंघले सरकारसँग आग्रह गरेको छ ।

कोरोना संक्रमणका कारण च्यानलहरूले पूर्वाधार बनाउने तयारी गर्न नसकेको महासंघका अध्यक्ष सुधीर पराजुलीले बताए । ‘सरकारले लकडाउनको समयलाई शून्य अवधि मानेको छ । साढे चार महिना त लकडाउन नै भयो । त्यसैले हामीलाई तयारीका लागि सो अवधि थप गरिदिनुपर्‍यो,’ उनले भने । अध्यक्ष पराजुलीका अनुसार महासंघमा आबद्ध ११ टिभी सञ्चालकहरूले स्टार टिभीको प्रसारण अधिकार लिएका छन् ।

त्यस्तै, डिएसएन कम्पनीले सोनी र कलर्स च्यानल प्रसारणको अधिकार लिएको छ । प्यासिफिक टे«डर्सले बिबिसी र एचबिओ च्यानल प्रसारणको अधिकार लिएको छ भने युबिपी प्राइमले जी च्यानल प्रसारण गर्दै आएको छ ।

पछिल्लो समय केही कम्पनीहरूले नेपाली जनशक्ति प्रयोग गरी नेपाली भाषामा नै विज्ञापन बनाउन थालेका छन् । तर, अझै पनि ८० प्रतिशत बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा विज्ञापन नबनाउने उनले बताए । क्लिनफिड पूर्ण रूपमा कार्यान्वयन भएपछि विदेशी कम्पनीहरूले अनिवार्य रूपमा नेपाली भाषा र जनशक्ति प्रयोग गरेर नै विज्ञापन बनाउनुपर्ने उनले बताए । यसले विज्ञापनसँग जोडिएका नेपाली कलाकार, विज्ञापन एजेन्सी तथा सम्बन्धित क्षेत्रको व्यापार प्रवद्र्धन हुने उनको भनाइ छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.