काठमाडाैंं, असाेज २८ । देश–१ को प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले १५ दिनभित्र १ हजार शैय्याको भेन्टिलेटरसहितको कोभिड अस्पताल निर्माण गर्न माग गरेको छ ।

कोरोनाको महामारी फैलिँदा जाँदा पनि प्रदेश सरकार उद्घाटन र शिलान्यासमा केन्द्रित भएको कांग्रेसको आरोप छ ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिपक्षी दलले १ हजार शैय्याको कोभिड अस्पताल १५ दिनभित्र निर्माण गर्न माग गरेको हो । प्रतिपक्ष दलका संसदीय दलका नेता राजीव कोइरालाले लकडाउनका अवधिमा प्रदेश सरकारले कोभिड अस्पताल निर्माणको अवसर चुकाएको बताए ।

प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी विराटनगरमा एक महिनाभित्र एक हजार शैय्याको कोभिड अस्पतालको निर्माण गर्ने घोषणा गरे पनि अझैसम्म अस्पताल नबनेको बताए ।

कार्कीले कोभिडका बिरामी घरमै छटपटाएर पीडादायी रुपमा मर्न बाध्य भइरहे पनि प्रदेश सरकारले मानवीय संवेदना र करुणा नदेखाएको आरोप लगाए । उनले १५ दिनभित्र सरकारले घोषणा गरेअनुसारको १ हजार शैय्याको अस्पताल निर्माण गर्न माग गरे ।

कार्कीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालका ८ भेन्टिलेटरमध्ये ५ वटा बिग्रिएको र कोशी कोभिड अस्पतालका ५ मध्ये २ वटा बिग्रेको जानकारी गराए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.