काठमाडौं, असाेज २५ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

यो विमानस्थलको पूर्ण उपयोग गर्न आवश्यक उडानका लागि नेपाललाई भारतबाट नेपाल प्रवेश गर्न महेन्द्रनगर र नेपागञ्ज हवाई रूट आवश्यक पर्छ, जसका बारेमा भारतले अझै सकारात्मक जवाफ दिएको छैन । यी प्रवेश मार्ग अनिश्चित हुँदा उडानको विषय पेचिलो बनेको छ ।

त्यसो त नेपालले मागेका ती रूट भारतले नदिँदा पनि उडान नहुने भने होइन । तर, अहिले भारतले स्वीकृति दिएका प्रवेश मार्गभन्दा महेन्द्रनगर र नेपालगञ्ज हवाई रूटबाट समय र खर्च जोगिनेछ ।
पर्यटन मन्त्रालयले गौतमबुद्ध विमानस्थल सन् २०२१ को शुरूबाट सञ्चालनमा आउने र सोहीअनुरूप सबै काम भइरहेको बताउँदै आएको छ ।

प्रधानमन्त्री केपी ओलीको पछिल्लो भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो हवाई रूटका विषयमा छलफल भएको थियो । तर, त्यसपछि थप प्रगति नभएको पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् । उड्डयन क्षेत्रका विज्ञ, मन्त्रालयका अधिकारीहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले यो विषयलाई उच्चस्तरीय कूटनीतिक तहबाटै पहल गर्नुपर्ने बताउँदै आएका छन् ।

हवाई रूटबारे भारतको राजनीतिक नेतृत्वले अहिलेसम्म हुँदैन नभने पनि सुरक्षाका कारण देखाउँदै सहमति भने दिएको छैन ।
यी दुई हवाई रूटमा भारतलाई मनाउन कूटनीतिक पहल आवश्यक भएको विज्ञहरूले बताउँदै आएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्रासँग शुक्रवार भएको भेटमा यो विषय उठान भएको छ । क्वात्रा झन्डै ६ महीनादेखि बन्द रहको नेपाल भारत हवाई उडान सुचारू गर्न आग्रह गर्दै मन्त्रालय पुगेका थिए ।

चैतमा सबै अन्तरराष्ट्रि«य उडान रोकेको नेपालले यही असोज महीनादेखि विभिन्न अन्तरराष्ट्रिय रूटमा नियमित उडान शुरू गरे पनि भारतमा कोरोना संक्रमण उच्च भएकाले उडान शुरू गरेको छैन । मन्त्री भट्टराईले अवस्था हेरेर उपर्युक्त समयमा निर्णय गरिने बताएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

भेटमा पर्यटन मन्त्री भट्टराईले राजदूत क्वात्रासँग यी दुई हवाई रूटका बारेमा कुरा गरेका थिए । राजदूतसँग यो विषय उठान गरे पनि रूटको गाँठो फुक्ने नफुक्नेमा अभैm अन्योल छ । पछिल्लोपटक नेपालले जारी गरेको नयाँ नक्साको विषयले दुई देशबीच अहिले जुन रूपमा संवाद हुनुपर्ने हो त्यो हुन सकेको छैन । (आर्थिक अभियान)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.