काठमाडौं, असाेज २४ । कोरोना रोकथामको व्यवस्थापनमा सरकार चुक्दा अवस्था भयावह बन्दै गएकाे छ । तर सरकार यति संक्रमित र उति संक्रमित सुनाउँनैमा व्यस्त छ ।

कोरोना संक्रमणका सुरुवाती दिनमै स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले आइसियू र भेन्टिलेटर अत्यावश्यक पर्न सक्ने सुझाव सरकारलाई दिएका थिए ।

र त्यसको व्यवस्थापनमा समयमै गर्न चुके ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी पनि दिएका थिए । जुन हाल आएर यथार्थमा परिणत हुन थालेको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिवार मात्रै संक्रमितको संख्या १ लाख ५ हजार ६ सय बढी नाघेको छ । तीमध्ये ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ३१ हजार बढी सक्रिय संक्रमित छन् ।

शनिवार ५ हजार ८ जना कोरोना संक्रमण पुष्टि भएकामा २ हजार ६ सय ७२ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा मात्र २ हजार १ सय जना संक्रमित थपिएका छन् । देशभर कोरोना संक्रमितको संख्या एक लाख नाघेपछि संघीय राजधानीकै अस्पतालहरूमा आइसोलेसन, आईसीयू र भेण्टिलेटरको अभाव हुन थालेको छ ।

कोरोना महामारीको सुरुवाती दिनमै आइसियू र भेन्टिलेटर अत्यावश्यक पर्न सक्ने र त्यसको व्यवस्थापनमा सरकार समयमै गम्भीर नबने ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले दिएका थिए, जुन हाल आएर यथार्थमा परिणत हुन थालेको छ । संक्रमितमध्ये धेरैजसो दीर्घ रोगको समस्या भएका छन् ।

तर आइसियू र भेन्टिलेटर खोज्दाखोज्दै संक्रमितको ज्यान जान थालेको छ भने स्वास्थ्य गम्भीर अवस्थामा पुगेपछि मात्रै आइसियू र भेन्टिलेटर मुस्किलले भेटिने गरेको छ । आइसियू र भेन्टिलेटरजस्ता सघन उपचार सेवा नहुँदा संक्रमितहरुको जीवन जोखिममा पर्न थालेको छ भने परिस्थिति कहालीलाग्दो देखा पर्दैछ ।

यस्तो भयावह अवस्था आइसक्दा पनि सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना नियन्त्रण तथा रोकथामका लागि बनेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र अहिलेको अवस्थामा सबैभन्दा बढी जिम्मेवार रहेको स्वास्थ्य मन्त्रालय लगभग सुतेको अवस्थामा छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बेहोस भएमा, बेहोस हुन लागेमा मात्रै अस्पताल जानु भन्दै परिस्थितिलाई थप उत्तेजक बनाउने काम गरिरहेका छन् । यस्तो समयमा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेर समय बिताइरहेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.