भक्तपुर, असाेज २१ । कोरोना सङ्क्रमणको जोखिमका कारण भक्तपुरमा दसैँका अवसरमा हुने विभिन्न जात्रापर्व तथा सांस्कृतिक क्रियाकलापलाई औपचारिकतामा मात्र सीमित गरिने भएको छ।

यससँगै तलेजुमा दसैँका अवसरमा गरिने बलिसहितको पूजा पनि छोट्टिने भएको हो। भक्तपुर दरवार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रासँग सम्बन्धित सरोकारवालाको बैठकले मङ्गलबार यस्तो निर्णय गरेको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षता रहेको उक्त बैठकमा तलेजुका पुजारीहरू, विभिन्न जात्रासँग सम्बन्धित गुठीयार, गुठी संस्थान भक्तपुरका प्रमुख, महानगरीय प्रहरी परिसरका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।

कोभिड–१९ को महामारीबीच दसैँलाई सुरक्षित ढङ्गले मनाउनुपर्नेमा नगर प्रमुख प्रजापतिले जोड दिएका छन्। यससँगै उनले यस निर्णयमा सबैले स्थानीयले साथ दिन आग्रह पनि गरेका छन्। 

बैठकले विजया दशमीको अवसरमा यस वर्ष भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पुजामा बलि नदिने र तलेजु भवानीको पुजालाई स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी विधिपूर्वक सामान्य पूजामा मात्र सीमित गर्ने निर्णय गरेको हो।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.