बुटवल, असाेज १९ । प्रदेश ५ को स्थायी राजधानी तथा नामकरणको प्रस्तावमाथि छलफल गर्न बसेकाे संसद् बैठक कांग्रेसको नाराबाजीपछि  स्थगित भएको छ । 

प्रदेश ५ को राजधानी दाङ तोक्न प्रदेश सरकारले शुक्रबार प्रदेश संसदमा लगेको प्रस्तावमा छलफल गर्न सोमबार बसेको बैठकमा प्रतिपक्ष दलका सांसदले नाराबाजी गरेपछि अवरुद्ध भएको भएको हो । 

प्रतिपक्ष दलका सांसदले संसदीय मर्यादा कायम गर, गिरफ्तारीमा परेकालाई रिहा गर, विशेष समितिको प्रतिवेदन सार्वजनिक गर तथा राजधानीका लागि गरिएको प्रस्ताव फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका थिए । नाराबाजीपछि संसद् बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

संसद् बैठकमा  कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनाैडियाले राजनीतिक सहमतिविना छलफल तथा सल्लाह नगरी सरकारले सदनमा प्रस्ताव ल्याएकाले सहमति गरेर अगाडि बढ्नुपर्ने बताए । 

उनले राजधानीको विषय गम्भीर र ऐतिहासिक भएकाले विनासहमति अगाडि बढ्दा संसदीय मूल्य र मान्यताविपरीत हुने चेतावनी दिए । उनी बोलेलगत्तै नाराबाजी गर्दै संसद् अवरुद्ध भएको थियो ।

यता संसद् भवनको बाहिर कडा सुरक्षा–व्यवस्था गरिएको छ । कांग्रेस तथा अन्य संघसंस्थाले सडकमा प्रदर्शन गरिरहेका छन् । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.