काठमाडौं, असाेज १९ । पछिल्ला दिन कोरोना भाइरस संक्रमितको संख्या दैनिक दुई हजारभन्दा बढीले वृद्धि भएपछि सरकारले सार्वजनिक यातयातामाथि कडाइ गरेको छ। 

सरकारले जारी गरेको ‘कोभिड-१९ प्रकोपको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७’ सार्वजनिक यातायातहरूले पालन नगरेपछि सरकारले कडाइ गरेको हो। 

सार्वजनिक यातायातले उक्त निर्देशिका पालना गरे/नगरेको अनुगमन गर्न सबै ७५३ वटै स्थानीय तहलाई समिति गठन गर्ने निर्देशन दिइएको छ।

स्थानीय तहमा गठन गरिने अनुगमन समितिले सार्वजनिक यातायातको अनुगमन गरी निर्देशिक उलंघन गरेको भेटिए कारबाही गर्न सक्नेछन्। 

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भदौ ३१ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘कोभिड-१९ प्रकोपको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७’ ल्याएको थियो। निर्देशिका ल्याएपछि असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा लगाइएको रोक खोलिएको थियो। 

तर, सार्वजनिक यातायातहरूले निर्देशिकामा उल्लेख गरिएका नियमहरू पालन नगरेपछि र देशभर कोरोना संक्रमितको संख्या तीव्र रूपमा बढेपछि सरकारले सार्वजनिक यातायात माथि कडाइ गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको हो। 

सार्वजनिक यातायातले निर्देशिका पालना नगरेको गुनासो धेरै आएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै अनुगमनको लागि आग्रह गरेको थियो। 

“यातायात सेवामा कार्यरत सवारी चालक तथा सहचालकल अनुशरण गरे/नगरेको र सार्वजनिक यातायातमा सवार यात्रुहरूले पालन गरे/नगरेको विषयमा अनुगमन समिति गठन गरी अनुगमन कार्यलाई व्यवस्थित बनाई कार्य सञ्चालनलाई सहज बनाउन तहाँ मार्फत् सबै स्थानिय तहहरूलाई परिपत्र गरिदिनुहुन नेपाल सरकार (सचिवस्तर)को २०७७ असोज १४ गतेको निर्णयानुसार अनुरोध गरिन्छ,’ भौतिक मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ। 

भौतिक मन्त्रालयको आग्रहलाई कार्यान्वयन गर्न संघीय मामिला मन्त्रालयले सबै स्थानीय तहलाई एकसाथ परिपत्र गरी असोज १८ गने निर्देशन दिएको छ। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.