काठमाडौं, असोज १६ । नेपालमा एक दशकयता बलात्कार र बलात्कारजन्य घटना चार गुणा बढीले बढेको देखिन्छ ।

चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र ४९६ बलात्कारको मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।

तथ्यांकले यस्तो बताइरहँदा गृहमन्त्री रामबहादुर थापाले भने राजनीतिक संक्रमणकालमा यस्ता घटना भइहाल्ने र अरु मुलुकसँग तुलना गर्दा चिन्ताजनक नभएको अभिव्यक्ति दिएपछि यसको चर्को आलोचना भएको छ ।

यही असोज ७ गते बझाङकी १२ वर्षीया बालिका सम्झना कामीकाे बलात्कारपछि हत्या भयो भने सप्तरीकी १७ वर्षीया संगीता मण्डलले सामूहिक बलात्कारपछि न्याय नपाउँदा आत्महत्याको बाटो रोजिन् ।

दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछिको हत्याकान्डमा संलग्नलाई सरकारले अझैपनि कानुनी दायरा ल्याउन सकेको छैन । यी त केही प्रतिनिधि घटनामात्र हुन् ।

सरकारी निकायकै तथ्यांक हेर्ने हो भनेपनि नेपालमा वर्षेनि ठूलो संख्यामा बलात्कारजस्तो जघन्य अपराध हुने गरेको छ ।

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा बलात्कारको घटना बढ्दोक्रममा छ । आर्थिक वर्ष २०७२/७३ मा एक हजार ८९ बलात्कारको मुद्दा दर्ता भएको छ भने २०७३/७४ मा एक हजार १३१, २०७४/७५ मा एक हजार ४८० मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी दुई हजार २३० र २०७६/७७ मा दुई हजार १४४ मुद्दा दर्ता भएका छन् ।

यसरी हेर्दा पछिल्लो पाँच वर्षको अवधिमा आठ हजार बलात्कारका मुद्दा दर्ता भएका छन् । तथ्यांकले नेपालमा बलात्कारको घटना डरलाग्दोरुपमा बढिरहेको देखिन्छ ।

तर, यस्ता घटनामा गम्भीर बन्नुपर्ने सरकारका गृहमन्त्री भने विकसित राष्ट्रहरुसँग तुलना गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.