काठमाडौं, असाेज १६ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा आगामी मंसिर ११ र १२ गते काठमाडौँमा आयोजना गरिने भएको छ।  निर्धारित कार्यक्रम अनुसार  गत चैतमा हुनुपर्ने साधारणसभा कोभिड–१९ का कारणले तीन-तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन।

महासंघको आज बसेको कार्यकारिणी समितिको बैठकले वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो। “आज बसेको कार्यसमितिको बैठकले महासंघको साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ”, महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने।

यस अघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो। उक्त कार्यदलले महासंघको साधारणसभा श्रव्य दृश्य माध्यमबाट र निर्वाचनका कार्यक्रमहरु काठमाडौमा गर्नका लागि सिफारिस गरेको थियो। 

त्यसपछि बसेको पदाधिकारीको बैठकले मंसिर ११ र १२ लाई साधारणसभा तथा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेको अवस्था छ। 

सरकारबाट अनुमति लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पुरा गर्ने र अब उपरान्त कोभिड-१९ का कारण कुनै स्थानीय तहले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवातजावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ। 

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन गत चैत्र २८ र २९ गते तोकिएकोमा उक्त समयमा नेपाल सरकारद्वारा कोभिड–१९ का कारणले देश पूर्ण रुपमा लकडाउन भई उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम अवरुद्ध भएको थियो। पछि गत जेष्ठ ७ र ८ गते र गत साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर देशमा जारी लकडाउन तथा निषेधाज्ञाले साधारणसभा हुन सकेको थिएन।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.