एजेन्सी, असोज १५। भारतको ‘सीबीआई’को विशेष अदालतले बाबरी मस्जिद विध्वंश मुद्दामा सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ ।

सफाइ पाउनेहरुमा पूर्वउपप्रधानमन्त्री लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, कल्याण सिंह र उमा भारतीसहित हुनुहुन्छ ।

विशेष अदालतका न्यायाधीशले बुधबार फैसला सुनाउँदै ठोस प्रमाण नपाइएका कारण सबैलाई सफाइ दिइएको बताउनुभयो ।

विशेष अदालतले सेप्टेम्बर २ तारिखमा सुनुवाइ पूरा गरेको थियो । बाबरी मस्जिद मुद्दामा पहिले ४९ जना अभियुक्त थिए । त्यसमध्ये १७ जनाको मृत्यु भइसकेको छ ।

बाबरी मस्जिद सन् १९९२ को डिसेम्बर ६ मा ध्वस्त पारिएको थियो । घटनाको २८ वर्षपछि फैसला भएको हो ।

बाबरी मस्जिद ध्वस्त भएपछि हिंसा भड्किएको थियो ।

यसअघि, गएको वर्ष नोभेम्बर ९ मा अयोध्याको विवादास्पद जमिन राम मन्दिरका पक्षधरले पाउने पक्षमा भारतको सर्वोच्च अदालतले फैसला गरेको थियो ।

हिन्दु पक्षले जमिनको स्वामित्व पाएसँगै त्यहाँ राम मन्दिर निर्माणको प्रक्रिया पनि सुरु भएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.