काठमाडौं, असाेज ११ ।  नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले गत साता चितवनमा बसेको नेपाल क्रिकेट संघ (क्यान)को निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै पुर्नविचारका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई अनुरोध गरेको छ।

सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले राखेपका सदस्यसचिवलाई दिएको ध्यानाकर्षणपत्रमा क्यानले गरेको खेलाडी वर्गिकरणमाथि असहमति जनाइएको छ।

क्यानको असोज ६ गते बसेको बैठकले सन २०२० का लागि पुरुष तथा महिला खेलाडीहरुको वर्गिकरण गर्दै पारिश्रमिक तोकेको थियो।

“लामो समयदेखि अवरुद्ध नेपाली क्रिकेटको व्यवस्थापनसँग सम्बन्धित गतिविधिलाई गति प्रदान गर्ने लक्ष्यका साथ गरिएका निर्णयहरूले केही सुधारात्मक र सकारात्मक सन्देश दिएको छ। जुन स्वागतयोग्य छ। तर क्रिकेट खेलाडीसँग प्रत्यक्ष सरोकार राख्ने तल उल्लेखित केही निर्णयमा भने क्रिकेट खेलाडीहहरूबाट प्राप्त अनुरोधका आधारमा पुनर्विचार गर्नुपर्ने हुँदा उचित सम्बोधनका लागि आवश्यक पहल गरिदिनु हुन अनुरोध गर्न चाहन्छु,” पाण्डेद्धारा प्रेसित ध्यानाकर्षणपत्रमा उल्लेख छ, “खेलाडी वर्गीकरणको आधारमा थप प्रष्टता आवश्यक छ। वर्गीकरण जस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गरिनु पर्छ। यसलाई तर्कसम्मत र त्रुटीरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता छ।” 

यसैगरी सिप्यानले नेपाली क्रिकेटलाई व्यावसायिक र प्रतिफलमूखी बनाइराख्न खेलाडीको आयस्रोत व्यवस्थित बनाउनुपर्ने तथा क्यानले निर्णय गरेअनुसार खेलाडीको जीवन बीमा/दुर्घटना बीमामा समावेश गरिने खेलाडीको दायरा फराकिलो बनाउनुपर्नेलगायतका माग राखेको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.