एजेन्सी, असाेज ११ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार तेस्रो जित निकाल्दा चेल्सी हारबाट जाेगिएकाे छ ।

शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार तेस्रो जित निकालेको हो । क्रिस्टलको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविन र रिचार्लीसनले एक एक गोल गरे । क्रिस्टलका चिखोउ कोउयाटेले एक गोल फर्काए ।

खेलको दशौँ मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा कोउयाटेले गोल गर्दै क्रिस्टललाई १-१ गोलको बराबरीमा ल्याए ।

Image

तर, खेलको ४० औं मिनेटमा रिचार्लीसनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई जित दिलाए । क्रिस्टलका जोएल वार्डले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि एभर्टनले पेनाल्टी पाएको थियो । जसमा रिचार्लीसनले सहजै गोल गरे । जितसँगै एभर्टनले ३ खेलमा ९ अंक जोडेको छ । एभर्टन तालिकाको शीर्ष स्थानमा रहेको छ ।

Image

एभर्टनले पहिलो खेलमा टोटेनहमलाई १-० ले हराएको थियो । दोस्रो खेलमा एभर्टनले वेस्ट ब्रुमलाई ५-२ ले हराएको थियो । क्रिस्टलको यो पहिलो हार हो । क्रिस्टलले २ खेलमा ६ अंक जोडेको छ । यस अघि क्रिस्टलले पहिलो खेलमा साउथह्याम्पटनलाई १-० ले र दोस्रो खेलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ ले हराएको थियो ।

Image

लिगकै अर्काे खेलमा चेल्सी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा चेल्सी वेस्ट ब्रुमसँग ३-३ गोलको बराबरीमा रोकिएको हो । वेस्ट ब्रुमको मैदानमा ३ गोलले पछि परेको स्थिति उल्टाएर चेल्सीले बराबरी खेलेको हो ।

चेल्सीका लागि मासन माउन्ट, कलुम हुडसन र टामी अब्राहमले एक एक गोल गरे । वेस्ट ब्रुमका कलुम रोबिनसनले दुई गोल गर्दा केली बार्टलीले एक गोल गरे ।

Image

रोमान्चक बनेको खेलको पहिलो हाफमा वेस्ट ब्रुमले तीन गोल गरेको थियो । चौंथो मिनेटमा रोबिनसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

चेल्सीका कप्तान तथा डिफेन्डर थियागो सिल्भाको गल्तीको फाइदा उठाउदै २५ औं मिनेटमा रोबिनसनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

२७ औं मिनेटमा केलीले गोल गर्दा पहिलो हाफमै वेस्ट ब्रुम ३-० ले अघि रह्यो ।

Image

तर, दोस्रो हाफमा फ्रान्क लाम्पार्टको चेल्सीले उत्कृष्ट पुनरागमन गर्यो ।

५५ औं मिनेटमा माउन्टले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । ७० औं मिनेटमा हुडसनले गोल गर्दै चेल्सीलाई ३-२ को अवस्थामा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समय अब्राहमले गोल गर्दै चेल्सीलाई हारबाट जोगाए ।

बराबरीसँगै चेल्सीले ३ खेलमा ४ अंक जोडेको छ । चेल्सी तालिकाको छैटौं स्थानमा रहेको छ ।

चेल्सीले पहिलो खेलमा ब्राइटनलाई ३-१ ले हराएको थियो । तर, दोस्रो खेलमा चेल्सी लिभरपुलसँग २-० ले पराजित भएको थियो ।

वेस्ट ब्रुमको यो पहिलो अंक हो । वेस्ट ब्रुमले ३ खेलमा १ अंक जोडेको छ ।  वेस्ट ब्रुमले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो ।

Image

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.