काठमाडौं, असाेज १० । नेपाली राजदूतावास ओमनले स्वदेश फर्किनै पर्ने बाध्यतामा रहेका १७५ जना नेपालीलाई सलाम एयरको चार्टर विमानमार्फत नेपाल पठाएको छ।

कोरोना भाइरसको महामारीका कारण प्रभावित १२९ पुरुष र ४६ जना महिलालाई आज नेपाल पठाइएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

“सलाम एयरको ओभी–४२७ को सातौं चार्टर उडानमार्फत ओमानबाट १७५ जना नेपालीहरू आज फर्किनु भएको छ,” विज्ञप्तिमा भनिएको छ, “उडान सुरु हुनु अगाडि यात्रु र चालक दलका सदस्यहरूको ७२ घण्टाभित्रको कोभिड–१९ पीसीआर स्वाब परीक्षणको नतिजा रहेको सुनिश्चित गरिएको थियो।”

विमानस्थलमा पुगेर सम्पूर्ण नेपालीहरूलाई ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले स्वदेश फिर्तीका लागि उनीहरुको सफल यात्रा र सुखमय जीवनका लागि शुभकामना दिइन्। र, यात्रुहरूले देश फर्किने अवसर मिलाइदिएकोमा राजदूत सर्मिलालाई धन्यवादसमेत दिएका थिए।

यो उडानसँगै नेपाली दूतावास ओमान त्यहाँ अलपत्र परेर दूतावासमा सम्पर्क गरेकमध्ये एक हजार १७८ जना नेपाली स्वदेश फर्काउन सफल भएको छ।

ओमानको सर्वोच्च समितिको निर्णयानुसार आगामी अक्टोवर-१ देखि ओमान अन्तराष्ट्रिय विमानस्थल खुल्ने भएकोले ओमान-नेपाल आगामी अक्टोवरबाट नियमित उडान सुरू हुने र सोही उडानहरूबाट पीसीआर लगायत स्वास्थ्य सम्बन्धी आवश्यक प्रोटोकल पूरा गरी सहजरूपमा नेपाल जान सकिने वातावरण निर्माण हुने दूतावासले बताएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.