काठमाडाैं, असाेज ७ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२० को लागि केन्द्रीय खेलाडी सम्झौताका लागि पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीको नामावली सार्वजनिक गरेको छ ।

क्यानले पहिलो पटक महिला टोलीलाई केन्द्रिय खेलाडीको सम्झौतामा राखेको हो । क्यानले तीन ग्रेडमा खेलाडी वर्गीकरण गर्दै पुरुषतर्फ प्रत्येक ग्रेडमा पारिश्रमिकमा १५ हजारले वृद्धि गरेको छ । पुरुष खेलाडीको ए ग्रेडका खेलाडीले ५० हजार बी ग्रेडका खेलाडीले ४० हजार र सी ग्रेडका खेलाडीले ३० हजार प्राप्त गर्ने छन् ।

यसै वर्षदेखि समावेश गरिएको महिलातर्फ ए ग्रेडमा रहेका खेलाडीले मासिक १५ बी ले १२ हजार र सी ग्रेडका खेलाडीले १० हजार प्राप्त गर्ने छन् । सम्झौता २०२० को सुरुवातबाटै लागु हुने भएको छ । सन् २०१९ मा ग्रेडमा रहेका स्पिनर ललित नारायण राजवंशी, ओपनर इशान पान्डे, प्रदीप ऐरी र विकेटकिपर राजु रिजाल सम्झौता सुचिबाट बाहिरिएका छन् ।

सन् २०१९ को ग्रेड अनुसार स्पिनर वसन्त रेग्मी ए ग्रेडमा उक्लिएका छन् । सोमपाल कामी बी ग्रेडमा झरेका छन् । यसअघि सोमपाल ए र वसन्त बी ग्रेडमा थिए । अभिनाश बोहरा र रोहित कुमार पौडेल ग्रेड बी बाट सी मा झरेका छन् ।

पुरुष टोलीको नयाँ ग्रेड

ग्रेड ए : ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी ।

ग्रेड बी : सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ ।

सी ग्रेड : सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, अभिनाष बोहोरा र कमलसिंह ऐरी ।

महिला ग्रेड :

ग्रेड ए : रुविना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी

बी ग्रेड : ज्योती पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, ऋतु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर

सी ग्रेड : कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले

क्यानकाे साधारण सभा असाेज २८ गते हुने

नेपाल क्रिकेट संघ क्यानले असोज २८ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।

चितवनमा आज बसेको कार्यसमितीको बैठकले २१ दिने सुचना निकालेर असोज २८ र २९ गतेका लागि साधारण सभा गर्ने निर्णय गरेको हो ।

अहिलेका लागि क्यानले भर्चुअल साधारण सभा गर्ने बताएकाे छ । त्याे बेला परिषद्ले स्विकृती दिएमा एकजुट भएर साधारण सभा गर्ने याेजना छ ।

यसका साथै क्यानको सम्झौतामा रहेका महिला र पुरुष खेलाडीको जीवन विमा गर्ने निर्णयपनि क्यानले गरेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.