काठमाडौं, असाेज ५ । नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति असंवैधानिक भन्दै बदरको मागसहित आइतबार पेश गरेको निवेदन सोमबार (आज) दर्ता भएको त्रिपाठीले जानकारी दिए । “निवेदन दर्ता भयो । पर्सीका लागि (बुधबार) पेशी तोकिएको छ ,” उनले भने । 

प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित सत्तारुढ दल नेकपाका नेता गौतम केही दिनअघि राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए । त्रिपाठीले सर्वोच्चमा दर्ताका लागि पेस गरेको निवेदनमा तत्काल राष्ट्रियसभा सदस्यका रूपमा काम नगर्न-नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

उनको नियुक्तिका लागि मन्त्रिपरिषद्ले गरेको सिफारिस असंवैधानिक भएकाले खारेज हुनुपर्ने र राष्ट्रियसभामा चुनाव हारेकाहरूलाई लान थालिएको भन्दै कस्ता व्यक्तिलाई राष्ट्रियसभामा लैजान ‘गाइडलाइन’ जारी गरिदिन पनि निवेदनमा माग गरिएको त्रिपाठीले बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.