काठमाडौं, असाेज २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले शुक्रबारको नियमित ब्रिफिङका क्रममा कोभिडले देशको अवस्थामा धेरै खराब भएको बताएका छन् ।

उनले दुई महिनाअघि नै मन्त्रालयले भनेको कुरा अहिले पनि सर्वसाधारणले नसुनेको भन्दै दु:ख व्यक्त गरे। ‘अहिले माइतीघरसहितका स्थानमा भिडभाड र जुलुस गरेर हिँड्ने क्रम बढेको छ’, उनले भने, ‘दुई महिनाअघि पनि भिडभाड र जुलुस नगर्न मैले भनेको थिएँ।

अहिले माइतीघर र बालुवाटारसहितका स्थानमा फेरि भिडभाड बढ्दा कोरोना खतरनाक हुने देखिएको छ।’ गौतमले जुलुस र भीडभाडले ठूलो क्षति निम्त्याउने पनि चेतावनी दिए। ‘यसले ठूलो क्षति हुनेवाला छ, यो क्षतिलाई रोक्न जुलुस नगरौं।

काठमाडौंसहितका घना बस्तीमा कोभिड-१९ को संक्रमण बढेको छ’, उनले भने, ‘अवस्था धेरै खराब भएको हामीले आँकलन गरेका छौं।’ गौतमले ६० वर्ष नाघेका र दीर्घ रोगीहरुलाई घर बाहिर ननिस्किन पनि अपिल गरे।

‘६० वर्ष पुगेका कोही पनि घर बाहिर ननिस्किनु होला, मधुमेह रोगी, फोक्सो र मुटुसहितका बिरामीले घरबाट ननिस्किनु होला’, उनले थपे, ‘केही दिनका लागि तपाईंहरु घरमै बस्नुस्। घरबाट बाहिर निस्कनै परेमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नू।’

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जनालाई कोरोना संक्रमण भएपछि सरकारले अवस्था जटिल मोडतर्फ गएको बताएको छ। पछिल्लो २४ घण्टायता काठमाडौं जिल्लामा मात्रै ६ सय ९८ जना संक्रमित भेटिएका छन्।

अर्कातिर ललितपुरमा ७९ जना संक्रमित भेटिँदा भक्तपुरमा ८२ जना नयाँ संक्रमित थपिएका छन्।  यस्तै देशभर शुक्रबार २ हजार २० जना नयाँ संक्रमित थपिएका छन्। सरकारले पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनामा पिसिआर परीक्षण गरेको छ। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.