काठमाडौ, असाेज २ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न स्थानका ८ पसललाई कारबाही गरेको छ।

अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा १४ लाख ८० हजार राजश्व समेत सङ्कलन भएको छ।

विभागका निर्देशक एवम् सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी, पानी तथा खाद्यान्नका पसललाई आज कारबाही गरिएको जानकारी दिएका छन्।

बजारमा पछिल्लो समय प्याजको मूूल्यमा वृद्धि भएको छ । विभागले व्यावसायीले बढी मूल्यमा प्याज बिक्री गर्न थालेपछि तरकारी बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीब्रता दिएको जनाएको छ ।

अनुगमनलाई तीब्रता दिने क्रममा आज मात्र ६ वटा आलु प्याज व्यापारीलाई कारबाही गरिएको छ। काठमाडौँ महानगरपालिकाको वडा नं ३२ स्थित तीनकुनेमा रहेको हरित कृषि तरकारी बजारमा रहेको उलक सब्जि भण्डार, दुलाल आलु भण्डार र व्यापारी विजेश गौतमलाई ५५/५५ हजार जरिवाना गरिएको बताए ।

यसैगरी काठमाडौँ महानगरपालिका–१३ मा रहेको रञ्जन आलु प्याज भण्डार, महानगर १४ मा रहेको पशुपति आलु स्टोरलाई प्रति स्टोर २ लाख ५० हजार, न्यू सापकोटा खाद्य तथा तरकारी स्टोरलाई २ लाख ५५ हजार र कागेश्वरी मनोहरा–५ मा रहेको माता सरस्वती खाने पानी प्रा. लि. लाई २ लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.