काठमाडौँ, ९ भदौ -विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज (मङ्गलबार) देखि पाँचौँ चरणको उद्धार उडान हुँदैछ । भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगित गरिएको थियो ।

मन्त्रिपरिषद्को हालैको बैठकले उद्धार उडानका साथै पिसीआर सहज भएका मुलुकबाट निश्चित शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मङ्गलबारदेखि हुने उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले उद्धार उडानको समायोजित तालिका बनाइएको जानकारी दिए ।

मङ्गलबार युएईको सारजहाँबाट एयर अरेबियाले नेपालीलाई काठमाडौँ ल्याउनेछ । बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउने जनाइएको छ । नेपाल वायु सेवा निगम, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उडान तालिका बिहीबार मात्र छ । त्यस दिन नेपाल एयरलाइन्सले रियाद र हिमालयले दमामबाट यात्रु काठमाडौँ ल्याउने छ ।

सोही दिन युरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले काठमाडौं ल्याउने तालिका तय गरिएको छ । एयरलाइन्सले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको समन्वय र सहकार्यमा मात्रै यात्रु नेपाल ल्याउन पाउनेछन् ।
नेपाल आउने सबै यात्रुको अनिवार्य पिसीआर रिपोर्ट हुनुपर्नेछ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.