काठमाडौं, ७ भदौ – नेपाल क्रिकेट संघ (क्यान) ले यसै साताभित्र राष्ट्रिय महिला क्रिकेट टोलीको कोरोना बिमा गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि क्यानले महिला टोलीको पनि कोरोना बिमा गर्ने जनाएको छ ।

बिमाका लागि खेलाडीको नागरिकता जम्मा गर्ने काम भइरहेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनले सबै महिला खेलाडी सम्पर्कमा नभएका कारण केही ढिलो भएको बताए ।

१८ महिला खेलाडीको कोरोना बिमा गरिनेछ । पछिल्लोपटक गत वर्ष घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि अन्तिम १८ सदस्यीय टोलीमा परेका खेलाडीको बिमा गरिने क्यान अध्यक्ष चन्दले जानकारी दिए । उनले क्यान कार्यालय बन्द भए पनि घरबाटै सबै काम भइरहेको जानकारी दिए ।

घरेलु प्रतियोगिता शून्य जस्तै हुने महिला क्रिकेटर टोलीले पछिल्लोपटक १३औं साग खेलेको थियो । १३औं सागमा नेपाल तेस्रो भएको थियो । क्यानले शनिबार राष्ट्रिय पुरुष टोलीका खेलाडीको कोरोना बिमा गरेको जनाएको थियो । क्यानले २५ खेलाडीसहित ग्राउन्ड स्टाफ र कार्यालय कर्मचारी गरी ५१ जनको कोरोना बिमा गरेको जनाएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.