काठमाडौं,३ भदौ – नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको छ । प्रविधिको (जुम वेविनार) माध्यमबाट बुधबार भएको राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति, प्रदेश र जिल्‍ला/प्रतिष्ठान/एसोसिएट शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो ।

महासंघ हालको केन्द्रीय कार्यसमितिको ३ वर्षे कार्यकाल भदौ ५ गते समाप्त हुँदैछ । तर कोरोना महामारीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न गर्न असम्भव देखिएकाले महासंघको विधान अनुसार कार्यकाल ६ महिना थप गरिएको महासचिव रमेश विष्टले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । महासंघले आउँदो फागुन ३ गते केन्द्र प्रदेश र शाखाको निर्वाचन गर्ने निर्णय पनि गरेको छ । त्यसअघि आउँदो मंसिर महिनाभित्र जिल्ला, प्रतिष्ठान र एसोसिएट शाखाको, पुस महिनाभित्रमा प्रदेश समितिहरुको र माघ ४ र ५ गते केन्द्रीय साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको छ ।

कोरोना महाव्याधीका कारण यो कार्यतालिका कार्यान्वयनमा जटिलता भएमा सम्पूर्ण कार्यतालिका पुनरावलोकन गर्ने अधिकार केन्द्रीय समितिलाई प्रदान गर्ने निर्णय पनि बुधबारको भेलाले गरेको छ ।
महासंघले कोरोना महाव्याधीका कारण सञ्चार क्षेत्र र महासंघका सदस्यहरुले आर्थिक अभाव झेल्नुपरेको भन्दै २०७७ सालको सदस्यता शुल्क छुट दिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.