१८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ माथि नगरपरिषद्मा छलफल चलिरहेको छ । लैनचौरमा बहुतले पार्किङ, तीनकुनेमा भूमिगत पार्किङ र सभाहलसहितको बुद्धपार्क तथा भृकुटीमण्डपमा विशाल सभाहल (मेगाहल) बनाउने योजनालाई बजेटमा समेटिएको छ ।

यी योजनाहरूमध्ये लैनचौरको बहुतले पार्किङ र तीनकुनेको बुद्धपार्क निर्माणको योजना जनप्रतिनिधिहरू निर्वाचित हुनु अघिको हो । महाभूकम्प पछि सहरमा खुल्ला ठाउँ चाहिन्छ भन्ने मान्यता र स्थानीयको विरोधका कारण योजनाहरू अघि बढेका छैनन् ।

निर्वाचनमा सुनाएको मोनोरेलको योजना पूरा नहुने देखेपछि नगरप्रमुख विद्यासुन्दर शाक्य महानगर र नगर कार्यपालिकाको नीति विपरीत बचेखुचेका खुला ठाउँ मास्न अग्रसर भएका छन् ।

आगामी वर्षका लागि महानगरले ल्याएको नीति तथा कार्यक्रममा ‘महानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाएर सार्वजनिक जग्गा संरक्षण गर्नेे कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गरिने’ उल्लेख छ ।

बजेेटमा र स्थानीयको आवश्यकता खुला पार्क र खेल मैदान निर्माणतर्फ भए पनि महानगरले भने कंक्रिटका संरचना उभ्याउने योजना अघि सारेको छ । काठमाडौंका खुला ठाउँहरूको दोहन र पुरातात्विक सम्पदाको विनाशमा स्वयं महानगरपालिका र नेपाली सेना अग्रसर भएको आरोप लाग्दै आएको छ ।

काठमाडौंको केन्द्रमा बचेका केही सार्वजनिक स्थलमा व्यावसायिक उद्देश्यले अतिक्रमण गर्ने योजनाहरू महानगरको बजेटमा समेटिएका छन् । ठेक्कामा कमिसन र भाडाको रूपमा महानगरको आम्दानी बढाउने उद्देश्यले सहरी सुशासन र स्वच्छ वातावरण प्रतिकूल यस्ता योजनाहरू बजेटमा राखिएका छन् ।

भूकम्पले सिकाएको पाठ बिर्सिएर अहिले जनप्रतिनिधिहरू नै आर्थिक लाभका लागि खुला ठाउँ मास्न लागिपरेको सहरी पूर्वाधार विज्ञहरूको आरोप छ ।

विज्ञहरू पुरानो बसपार्कमा २९ तले भ्युटावर र खुलामञ्चमा क्रसर तथा बसपार्क चलाउन दिएर आलोचना खेपेका नगरप्रमुख शाक्य नै आर्थिक लाभमा लिप्त भएको आरोप लगाउँछन् । सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा भन्छन्, ‘महानगरका यस्ता योजनाहरू पूरा भए काठमाडौं मान्छे बस्न लायक रहँदन ।’

उनका अनुसार काठमाडौंमा यसैपनि खुला क्षेत्रहरू छैनन्, जति बाँकी छन् ती नगरबासीको उकुसमुकस फुकाउने थलो हुन् । भन्छन्, ‘अतिक्रमित सार्वजनिक जग्गाहरू फिर्ता र निजी जमिन किनेर भए पनि खुला ठाउँ बढाउनु पर्नेमा भएका ठाउँ पनि मास्नु भनेको सरासर आत्माघात हो ।’

किशोर थापा
महानगरले करबापत यो वर्ष उठाएको साढे तीन अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । त्यो पैसा पुँजीगत खर्चमा नलगाई डेढ अर्ब ब्याज आउने गरी नबिल बैङ्कको मुद्धति खाता राखिएको छ । त्यस्तो उपयोगविहीन रकमले महानगरलाई आवश्यक भवनलगायत संरचनाका लागि निजी जग्गा किन्नुपर्ने पूर्व सचिव थापा बताउँछन् ।

भविष्यमा चाहेर पनि तीनकुने, भृकुटीमण्डप र लैनचौरजस्ता खुला क्षेत्र बनाउन नसकिने हुनाले तीनको संरक्षण र सदुपयोगको योजना ल्याउनुपर्ने थापाको मत छ ।

सहरी पूर्वाधार तथा वातावरणविज्ञ भुषण तुलाधार खुला ठाउँको महत्व नबुझे जसरी योजनाहरू आएको बताउँछन् । सहरवासीहरूले अभ्यास गर्ने र टहलिन अत्यावश्यक खुला क्षेत्रको सामाजिक महत्व समेत उच्च रहेको उनले बताए ।

हरियाली बढाउन र भूमिगत पानी भण्डारण गर्न पनि खुला ठाउँको संरक्षण अत्यावश्यक रहेको तुलाधार बताउँछन् । पार्किङ चाहिएमा निजी क्षेत्रसँग सहजीकरण गर्न सकिने उनको सुझाव छ ।

‘सबै ठाउँ क्रंक्रिटले ढाकिसके, पानी हिँड्ने बाटोमा सडक छ,’ तुलाधर भन्छन्, ‘पूर्खाले जुन-जुन ठाउँ खुला राखेका छन्, ती बालुवा र बनोटको हिसाबले पानी रिचार्ज हुने प्राविधिक क्षेत्र हुन् । त्यसलाई मासेपछि भविष्यमा संकट आउँछन् ।’

ऐतिहासिक लैनचौरमा भर्टिकल पार्किङ

पूर्वसचिव थापाका अनुसार लैनचौर ठमेलमा निस्सासिएकाहरूको सुस्ताउने ठाउँ हो । त्यस भेगमा सर्वसाधारणका लागि लैनचौरबाहेक अरू खुल्ला ठाउँ छैन ।

उहिले शिवपुरीबाट आएको राजकुलोको पानी भण्डारण गर्ने स्थान हो, लैनचौर । यो क्षेत्रको जमिनमा पानी रिचार्ज गर्न बनाइएको पोखरी रहेको ठाउँमा अहिले महानगर भर्टिकल पार्किङ बनाउन लागिपरेको छ ।

महानगरले ‘भर्टिकल पार्किङ’ भनेको छ, तर कत्रो बन्छ, स्पष्ट छैन । धेरै गाडी अट्ने ‘भर्टिकल पार्किङ’का लागि ठूलो स्टिल स्ट्रक्चर बनाउनुपर्ने हुन्छ ।

फेरि लैनचौर खुम्चिएर सानो भइसकेको छ । समाजकल्याण परिषद्को नाममा रहेको ३५ रोपनी जग्गा उप-राष्ट्रपति कार्यालयले कब्जा गरेपछि अग्लो पर्खालमा तारबार सहितको सैन्य गस्ती छ ।

दुग्ध विकास संस्थान र शान्तिविद्या उमाविको बीचभाग (मुख्य लैनचौर) अहिले महानगरको निशानामा छ । स्थानीयले तारबार गरेको त्यो चौरमा साँझ-बिहान सबै उमेर समूहका मान्छे फुटबल, तेक्वान्दोलगायत खेल खेल्न र व्यायाम गर्न आउँछन् ।

महाभूकम्पको बेला धेरैलाई आश्रय दिएको यो चौरमा अग्लो स्टिल स्ट्रक्चर खडा गर्ने सोचमा छन् मेयर शाक्य । उनी सफल भए भने केही गाडीले पार्किङको सुविधा त पाउलान् तर सहरले एउटा ऐतिहासिक ठाउँ गुमाउने छ ।

वातावरणविद् तुलाधर लैनचौरको विशिष्टता नबुझ्दा पार्किङ बनाउने निर्णय भएको हुन सक्ने बताउँछन् ।

तीनकुने चौरमा बुद्धपार्क

लामो समयदेखि अलपत्र करिब ५० रोपनीको चौर हो, तीनकुने । खुला पार्क बनाउने योजनाअनुसार नै २०३२ जेठ १४ मा त्यहाँको जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको थियो ।

केही परिवारले सरकारले तोकेको मुआब्जामा चित्त बुझेर रकम लिएनन् । त्यो मुआब्जा रकम अहिले पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण गर्न सक्ने अवस्था छ ।

अब काठमाडौं महानगरपालिका त्यो मुआब्जा विवाद सल्टाएर पहिलेको योजनाभन्दा फरक पार्क बनाउन अघि सरेको छ । विरोध नहोस् भनेर हुन सक्छ, महानगरले त्यहाँ गौतम बुद्धको विशाल मूर्ति राख्ने भनेको छ ।

मेयर शाक्यका अनुसार, त्यहाँ तीन तलाको भूमिगत पार्क तयार हुनेछ । सबभन्दा तल अण्डरग्राउन्ड पार्किङ र बीच तलामा पसल, प्रदर्शनी कक्षसहित शौचालयहरू हुने छन् । सबैभन्दा माथिल्लो तलामा दुईसय जना जति अटाउने ध्यान केन्द्र रहने छ ।

सतहको बीचमा १३ मिटर अग्लो र ९६ मिटर व्यासका गुम्बज बनाइने छ । त्यसमाथि १६ मिटर अग्लो बुद्धको मूर्ति रहने छ ।

शाक्यका अनुसार तीनकुनेको तीन कुनामा शंख आकारको पार्क बन्ने छन् । ‘फाउन्टेन’ सहितका ती शंख पार्कहरूबाट बुद्धमूर्ति भएको ठाउँमा १२ वटा प्रवेशद्वार पार गर्नुपर्नेछ ।

अर्थात्, तीनकुनेभित्र अब टहलिन मिल्ने हरियो खुला क्षेत्रभन्दा बढी कंक्रिटका संरचना बन्नेछन् । भूकम्पजस्ता विपदको बेला त्यो बेकामे साबित हुने निश्चित रहेको जानकारहरूको दाबी छ । पूर्वसचिव थापा त्यहाँ कंक्रिट संरचनाहरू थुपारिँदा स्थानीयले कुनै लाभ लिन नसक्ने बताउँछन् ।

रिचार्ज जोनमा मेगा हल

काठमाडौंको सीमित खुला क्षेत्रमध्ये अत्यधिक मान्छे पुग्ने ठाउँ हो, भृकुटीमण्डप । काठमाडौं महानगरको योजना सफल भयो भने अब त्यहाँको २१२ रोपनी जमिनमा अत्याधुनिक मेगा हल निर्माण हुनेछ ।

वातावरणविद् तुलाधर भृकुटीमण्डप काठमाडौंको भूमिगत पानी रिचार्जको मुख्य ‘जोन’ भएको बताउँछन् । पूर्खाले टुँडिखेल र आसपासको क्षेत्रलाई त्यसैअनुसार खुला राखेको स्मरण गराउँदै सहरबीचको एउटा सानो उद्यान पनि मास्ने योजना आउनु दुःखद् भएको उनी बताउँछन् ।

महानगरको सहरी योजना आयोगले एकलाख १४ हजार वर्गमिटरको पाँचतले मेगाहलको प्रस्ताव गरेको छ । आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार २१२ रोपनीमध्ये करिब ४० प्रतिशत क्षेत्रमा भौतिक संरचना बन्नेछ ।

६० प्रतिशत क्षेत्रमा हरियाली रहे पनि त्यो सर्वसाधारणका लागि खुला पार्क हुने छैन । मेगाहलभित्र हुने कार्यक्रम प्रभावित हुने भएकाले बाहिरको पार्क खुला राख्न सम्भव नहुने बस्नेत बताउँछन् ।

उनका अनुसार भवनका दुई तलामा एकहजार कार अटाउने पार्किङ हुनेछ । बाँकी तलाहरूमा २०० जना अटाउने छवटा मिटिङ हल, ४५० जना अटाउने तीनवटा कन्प|mेन्स हल र तीन हजार अटाउने अडिटोरियम रहने छ ।

मेगाहलमा चार स्थानबाट प्रवेश र दुई स्थानबाट निस्कने द्वारको राखिने छ । मेयर विद्यासुन्दर शाक्यले यो आयोजनालाई आफ्नो ‘डि्रम प्रोजेक्ट’ भनेका छन् ।

‘पहिलो चरणमा साल्ट ट्रेडिङ भवन, भद्रकाली र भृकुटी मण्डपबाट प्रवेशको व्यवस्था हुनेछ’, बस्नेत भन्छन्, ‘धरहरा निर्माण सम्पन्नपछि सिधै टुँडिखेलबाट मेगाहल आउने अन्डरपासको डिजाइन तयार पारेका छौं ।’

अर्थात्, सर्वसाधारणका लागि भृकुटीमण्डप बन्द हुनुको साथै अन्डरपास निर्माणबाट वरपर टुँडिखेललगायतका खुला क्षेत्रलाई पनि जोखिममा पार्ने योजना महानगरले बनाएको छ ।

भृकुटीमण्डप बन्द गरेर बनाइने मेगाहलको विकल्प खोज्नुपर्ने पूर्वसचिव थापाको सुझाव छ । अहिले गोदावरी, चोभार, भक्तपुर, झापा सबैतिर ठूलाठूला सभा हल बनाउने लहड चलेको बताउँदै उनी भन्छन्, ‘जहाँ आवश्यक छ, त्यहाँ बनाउनुपर्छ तर इतिहास र वातावरण जोगाउँदै ।’

साभार: अनलाईन खबर

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.