युट्युबमा दृश्य देखेरै अचम्म लागेको थियो।

सामुन्ने अपरेसन थिएटर छ। बेडमा पल्टेका बिरामी पेटमा मादल राखेर एकोहोरो ताल मिलाउँदै ठोकिरहेका छन्। मादल बजाउनेका पछाडि जम्मा भएका डाक्टर समूहले उनको टाउको चिर्दै गरेको देखिन्छ।

‘बजाउन सजिलो भयो?’ शल्यक्रिया गरिरहेका डाक्टर सोध्छन्।

मादल बजाइरहेका चर्चित मादलवादक खड्ग बुढा बजाइ नै रहन्छन्। एकछिनपछि बोल्न थाल्छन्, ‘अँ, अब सजिलो भयो।’

उनले जवाफ फर्काउनासाथ न्यूरोसर्जन वसन्त पन्तले ठ्याक्क त्यही विन्दुमा रोक्न लगाउँछन्। काम फत्ते हुन्छ।

‘यो मस्तिष्कको यस्तो समस्या हो,’ डा. पन्तले सेतोपाटीसँग भने, ‘मादलवादक नभएर सैलुन सञ्चालक भइदिएका भए हामीले कैंची चलाउन लगाएर अपरेसन गर्नुपर्थ्यो।’

यो रोगलाई ‘डिस्टोनिया’ भनिन्छ। वाद्यवादकलाई भएकाले ‘म्यूजिसियन स्क्र्याम’ भनियो। कपाल काट्नेलाई भए ‘बार्बर स्क्र्याम’ भनिन्छ।

‘अनि तपाईंहरूजस्तो लेख्ने मानिसलाई भइदिएको भए राइटर्स स्क्र्याम,’ डा. पन्तले भने।

डिस्टोनिया भएका वाद्यवादक बिरामीलाई विश्वका धेरै ठाउँमा वाद्ययन्त्र बजाउन लगाएरै टाउको शल्यक्रिया गरिएका थुप्रै भिडिओ फेला पर्छन्। नेपालमा पनि डिस्टोनियाको उपचार पहिलेदेखि हुँदै आएको हो। तर, यस किसिमको ‘टास्क स्पेसिफिक डिस्टोनिया’ का बिरामीलाई वाद्ययन्त्र बजाउन लगाएरै गरिएको यो पहिलो शल्यक्रिया भएको डा. पन्त बताउँछन्।

अब कुरा गरौं मादलवादक खड्ग बुढाको।

सल्यानका ५६ वर्षीय बुढाले बजाएको मादल नसुनेका नेपाली विरलै होलान्। कयौं लोकदोहोरीदेखि रक ब्यान्डका चर्चित गीतमा समेत उनले मादल बजाएका छन्। ३२ वर्षदेखि एकोहोरो मादल ठोक्दै आएका उनी अहिले पनि सांस्कृतिक संस्थानमा जागिरे छन्।

‘इलाहाबाद प्रयाग संगीत समिति’ बाट तबलावादनमा संगीत प्रवीण (एमम्यूज) गरेका बुढाको काममा केही महिनायता बाधा सुरू भयो।

खड्ग बुढा मादल बजाउँदै। तस्बिर स्रोतः बुढाको फेसबुक

‘लेख्दा लेख्दै हात बाउँडिने त दुई वर्ष पहिलेदेखि हुन थालेको थियो,’ बुढाले भने, ‘तै पनि जबर्जस्ती लेखेर काम चलाइरहेको थिएँ।’

केही महिनाअघि भने उनलाई मादल बजाउँदा पनि हात बाउँडिने र हात कडा भएर तालै खुस्किने समस्या सुरू भयो। उमेरसँगै आएको समस्या होला भनेर सुरूमा ‘थेरापी’ गराए। समाधान भएन। उल्टो बल्झिँदै गयो।

यस्तो अवस्थामा करिब तीन महिनापहिले बुढा न्यूरो सर्जन डा. वसन्त पन्तकहाँ जचाउन गए।

डा. पन्तले हेर्नेबित्तिकै ‘यो बाजा बजाउनेलाई लाग्ने नसासम्बन्धी रोग हो’ भनिदिए। समाधाननिम्ति टाउको शल्यक्रिया गर्नुपर्ने सुझाए।

‘एक जना डाक्टरलाई मात्र देखाएका भरमा टाउको अपरेसन गराइहाल्न दोमन भयो। मेरा आफन्तले पनि एकपटक अर्को डाक्टरलाई देखाउने सल्लाह दिए,’ उनले भने।

अर्को अस्पतालका चिकित्सकले उनको दिमागमा ‘टेपवर्म’ भएको जानकारी दिए।

‘एमआरआइ एक्सरेमा सेतो दाग देखाउँदै त्यहाँका डाक्टरले सानो किसिमको जुका मेरो टाउकामै पुगेको बताउनुभयो,’ बुढा भन्छन्, ‘त्यसपछि त्यसैको औषधि लेखिदिनुभयो।’

महिनाभन्दा बढी त्यो औषधि खाँदा पनि केही आराम भएन।

‘डाक्टरले दुई महिनापछि मात्र आउनू भन्नुभएको थियो,’ उनले थपे, ‘केही उपाय लाग्ला भनेर त्यसबीच आयुर्वेदिक उपचारका लागि बौद्ध गएँ।’

यसरी एलोप्याथिक र आयुर्वेदिक औषधि खाँदा पनि समस्या नसल्टेपछि अन्ततः फेरि डा. पन्तकै न्यूरो अस्पताल पुगेको बुढाले सुनाए।

‘उहाँले फेरि मादल बजाउँदाकै समस्यामा केन्द्रित रहेर एकोहोरो प्रश्न गर्नुभयो,’ बुढा भन्छन्, ‘बीचबीचमा सोध्नुभएका कुरा मेरा समस्यासँग ठ्याक्कै मिल्थे।’

डा. पन्तका अनुसार बुढाका हकमा आफ्नो पहिलेकै निष्कर्ष सही थियो।

‘मादल बजाउनेले एकपटक ठोक्दा दिमागमा एकपटक मात्र ‘सर्कुलेट’ हुनुपर्नेमा त्यसको ‘सिग्नल’ धेरैपटक सर्कुलेट गरिदिन्छ र हात कडा हुँदै जान्छ,’ डा. पन्तले भने, ‘त्यसैले दिमागको त्यो भागलाई ‘सप्रेसन’ गर्दै त्यो चक्र नै ‘ब्रेक’ गर्नुपर्ने थियो।’

यस्तो अवस्थामा डा. पन्तले शल्यक्रिया नै गर्नुपर्ने जानकारी फेरि पनि बुढालाई दिए।

‘तपाईंलाई हातको समस्याले अहिले भर्खर छुन लागेको छ,’ डा. पन्तको भनाइ उद्धृत गर्दै बुढाले सुनाए, ‘समयमै अपरेसन नगरे बल्झिँदै जान्छ।’

त्यसपछि बल्ल बुढा शल्यक्रिया निम्ति तयार भए। मिति वैशाख १६ गते तय भयो। 

‘त्यसको एक दिनअघि मलाई माइतीघरस्थित अन्नपूर्ण अस्पताल बोलाउनुभएको थियो,’ बुढाले भने, ‘उहाँले मलाई मादल बजाउन कुन-कुन आसन सजिलो हुन्छ भनेर सोध्नुभयो।’

डा. पन्तका अनुसार यो रोगको लक्षण भनेकै मानिस जुन काम गर्दै आएको हुन्छ, त्यसमा बाधा उत्पन्न हुन थाल्नु हो।

‘उपचार निम्ति टाउको शल्यक्रिया गर्नु त थियो नै। त्यसैगरी ठीक विन्दु पहिल्याउन पनि बिरामीले जे काम गर्दा बाधा भइरहेको छ, त्यसै काममा सक्रिय बनाइरहनु आवश्यक पर्‍यो,’ डा. पन्तले भने।

त्यति बेला बुढालाई सहज हुने ‘पोजिसन’ मा मादल राख्दै बजाउन लगाइयो। बुढाले मादलबाहेक खैंजडी पनि लगेका थिए।

‘बेडमा समेत राखेर कति ठाडो भएर बस्ने, कति सुत्ने भन्ने हिसाबले पोजिसन तय गर्नुभयो,’ बुढाले सुनाए, ‘त्यो पोजिसन मैले मादल सहजै बजाउन सक्ने अनुकूलता हिसाबले तय गरियो।’

त्यसरी बजाउने बेला के-कस्ता परिस्थिति भइदिए उनलाई अप्ठ्यारो हुन्छ भन्ने विस्तारमा सोधिएको थियो। आवश्यकताअनुसार मोड्न मिल्ने त्यस बेडमा सबैथोक तय गरियो। खुट्टा थोरै माथि लगेपछि काखमा मादल राख्न सकिन्थ्यो।

‘बेडमा सुतेर बजाउन पोजिसन तय गरिसकेपछि टाउको कस्ने हिसाबले ओदानजस्तो फ्रेम ल्याइयो,’ उनले भने, ‘त्यसपछि सुतेर मादल बजाइरहेकै बेला टाउको हल्लिन नदिने गरी त्यो ओदानको पनि पोजिसन मिलाइयो।’

शल्यक्रिया भोलिपल्ट ११ बजे तय थियो।

‘तर, सवा दस बजेतिरै डाक्टरहरू आएर मेरो टाउकोमा त्यो ओदानका नट कसिदिनुभयो,’ बुढाले भने, ‘नदुख्ने सुई लगाइएको भए पनि ओदान कसेपछि टाउको रनक्क दुखिरहेको थियो।’

त्यसपछि फेरि अस्पतालको तल्लो तलामा लगेर एमआरआइ गरियो। अरू बेला एमआरआइ गर्दा आधा घन्टा लाग्थ्यो, त्यो बेला पाँच मिनेटमै पूरा भएको बुढा सम्झन्छन्।

यो शल्यक्रियामा डा. पन्तलाई डा. रेशा श्रेष्ठले सघाएकी थिइन्।

‘एमआरआइकै आधारमा हामीले चिर्नुअगावै प्रायः योजना तय गरिसकेका थियौं,’ डा. श्रेष्ठले भनिन्, ‘त्यसैगरी अपरेसन बेला कुनै समस्या नहोस् भनेर अघिल्लो दिनै अप्ठ्यारो हुनसक्ने सबै अवस्था पहिचान भइसकेको थियो।’

यसरी शल्यक्रियाअघि गरिएको एमआरआइको महत्वपूर्ण भूमिका थियो।

बुढाका अनुसार एमआरआइपछि उनलाई लिफ्टबाट माथि अपरेसन थिएटर लगियो, सवा ११ बजे। उनको टाउको दुखिरहेकै थियो।

‘मेरो सर्वस्व नै त्यही मादल,’ बुढाले भने, ‘मादल बजाउने हात ठीक हुन्छ भनेपछि म जस्तै दुःख सहन पनि तयार थिएँ।’

खड्ग बुढा मादल बजाउँदै। तस्बिर स्रोतः खड्ग बुढा

अपरेसन थिएटरमा लगेको केही बेरसम्म त्यो ‘ओदान’ फेरि बेडमा कस्न समय लाग्यो।

‘सुरूमा त डाक्टर बोलेकोदेखि अनेकथरि आवाज आइरहेको थियो,’ उनले भने, ‘निकैपछि मात्र पछाडि चिरिक्क चिरेजस्तो चिसो भयो।’

त्यति बेलै डाक्टरले उनलाई ‘कत्तिको दुःखिरहेको छ’ भनेर सोधेका थिए। 

‘चिरेको ठाउँमा हल्का दुखिरहेको थियो,’ उनले त्यो क्षण सम्झिए, ‘तर, धेरै दुखाइ चाहिँ त्यो ओदानले कसेको टाउकोतिर महशुस भइरहेको थियो।’

बुढाका अनुसार ‘ओदान’ कसेको ठाउँमा अहिले पनि दाग छ।

आफ्नो जवाफ सुनिसकेपछि डाक्टरले ‘ल भयो, अब यति नै दुख्ने हो। यसभन्दा बढी हुँदैन’ भने।

‘मलाई बेहोस नपारिकनै टाउको अपरेसन भइरहेको थियो,’ उनले भने, ‘डाक्टर र मबीच मजाले दोहोरो कुरा भइरहेका थिए।’

टाउको चिर्नुपहिले पनि डाक्टरले उनलाई मादल बजाउन लगाएको बुढा बताउँछन्। त्यति बेला उनको हात कत्तिको चलिरहेको छ भनेर हेरिएको थियो।

नदुख्ने सुई लगाएर टाउको चिर्दै गर्दा ‘ल अब हामीले बजाउनू भनेका बेला मात्र बजाउनू। अरू बेला नबजाउनू’ भनेका थिए।

त्यसरी चिरिसकेपछि एकैछिनमा सुइरो पनि घुसाएजस्तो लाग्यो।

‘त्यसपछि ल बजाउनू त भन्नुभयो,’ बुढाले सुनाए, ‘बजाउन थालेँ।’

डाक्टरले जति बेला बजाउनू भने, त्यति बेलै बुढाले बजाइदिए। थाम्नु भनेका बेला थामे र फेरि बजाउन लगाउँदा फेरि बजाइदिए।

‘कतिपय बेला बजाउँदा-बजाउँदै अप्ठ्यारो हुन थालेको थियो,’ उनले सुनाए, ‘म त्यसो हुनेबित्तिकै आफ्नो अवस्था बताइदिन्थेँ। त्यसपछि फेरि खुल्दै गएर सजिलो भएजस्तो लाग्थ्यो र त्यो पनि बताइदिन्थेँ।’

बुढालाई शल्यक्रिया बेला दुईपटक अप्ठ्यारो र दुईपटक सजिलो भएको थियो। त्यसपछि एउटा विन्दुमा पुगेर उनलाई एकदमै सजिलो लागेछ। उनले तत्कालै ‘मलाई अब एकदम ठीक छ’ भनिदिए।

‘ठीक त्यति बेलै डा. पन्तले रोक्न लगाउनुभयो,’ बुढा भन्छन्, ‘त्यसपछि उहाँले अरू डाक्टरतिर हेरेर ‘ल यतिमै फिट गर’ भन्नुभएको सुनेँ।’

डा. पन्तका अनुसार यो शल्यक्रिया गर्दा बिरामीलाई उसको ‘रिदम’ अड्किने क्षणसम्मै बजाउन लगाइरहनुपर्थ्यो। यसरी बजाउँदा-बजाउँदै अड्किने विन्दु पत्ता लाग्नासाथ हातको चालचलन नियन्त्रण गर्ने दिमागको भाग चलाउनुपर्ने हुन्छ।

‘दिमागभित्रको केवल चार मिलिमिटर आकारको ठाउँलाई पहिले सप्रेसन गर्दै स्टिमुलेट गर्नुपर्ने हुन्छ,’ डा. पन्तले भने, ‘त्यसपछि विद्युतीय उपकरणबाट त्यसको शक्ति बढाउँदै लैजानुपर्छ।’

त्यति बेलै दिमागको त्यस भागमा अन्य ‘सिग्नल’ जाम गरिन्छ। नयाँ विद्युतीय ‘सिग्नल’ ले ‘सप्रेसन’ गर्दै लगेपछि बल्ल ठ्याक्कै लक्ष्य पत्ता लाग्छ। त्यसपछि ‘रेडियो फ्रिक्वेन्सी वेभ’ पठाएर मिलाइन्छ। त्यसलाई ‘लिजनिङ’ भनिन्छ। त्यो लिजन बनाउने कामले नै ठ्याक्क ‘ब्यालेन्स’ तयार पारेर समस्या समाधान गरिदिन्छ। त्यही ‘ब्यालेन्स’ विन्दु पत्ता लगाउन खड्गबहादुर बुढाका हकमा मादल बजाइरहनु जरूरी थियो।

त्यो थाहा हुनेबित्तिकै त्यही ‘ब्यालेन्स’ विन्दुमा आफूहरूले स्थायी तवरबाट ‘सेट’ गरिदिएको डा. पन्तले बताए।

यता मादल बजाउन सजिलो भयो भनेर सुनाएको केही क्षणमै चिकित्सकहरूले शल्यक्रिया सकेको जानकारी आफूलाई दिएको बुढा बताउँछन्।

‘चिरेदेखि सकुन्जेल मुश्किलले पन्ध्र-बीस मिनेट लागेको थियो,’ बुढाले भने, ‘अपरेसन थिएटरमा छिरेदेखि बाहिर निस्कँदा लगभग डेढ घन्टाजस्तो लाग्यो।’

बुढाका अनुसार शल्यक्रियाअघि ‘ओदान’ लगाउँदा, सुत्दा, कस्दा, बारम्बार मादल बजाउन लगाइएको थियो। ती सबै क्षण उनका हात बाउँडिएका थिए। चिरिसकेपछि भने बाउँडिन बन्दै भयो।

‘म त सजिलो भएपछि बजाएको बजायै गर्न थालेको थिएँ,’ उनले शल्यक्रियाकै बेला खुसी हुँदाको क्षण सम्झे, ‘डाक्टर साहेबले नै ‘ल पुग्यो अब, अब बजाउनु पर्दैन’ भनेपछि बल्ल रोकिएँ।’

भर्ना भएको दिनसहित जोड्दा उनी जम्मा पाँच दिन अस्पताल बसे।

‘अब त डिस्चार्ज भएको पनि महिना नाघिसकेको छ,’ बुढाले खुसी हुँदै सुनाए, ‘अहिलेसम्म हात बाउँडिने वा पहिलेजस्तो कडा हुने समस्या ठ्याम्मै छैन।’

अपरेसनको तेह्रौं दिनमै उनले प्रिज्म स्टुडियोमा मादल बजाएका थिए। त्यसयता लगातारै उनको काम अघि बढेको बढ्यै छ।

‘आज पनि माण्डवी त्रिपाठीको स्टुडियोमा राजु परियार भाइको गीत रेकर्डिङका लागि बोलाएका छन्,’ गत बिहीबार सेतोपाटीसँगको कुराकानीका क्रममा उनले भनेका थिए, ‘मलाई जति मादल बजाए पनि अब कुनै समस्या छैन।’

जस्तै मुश्किल भए पनि शल्यक्रिया गर्नुअगाडि आफूले स्टुडियो पुगेर मादल बजाइराखेको बुढा सम्झन्छन्।

खड्ग बुढा मादल बजाउँदै। तस्बिर स्रोतः बुढाको फेसबुक

‘त्यो बेला हातको समस्याले ब्यालेन्स बिग्रेर असाध्यै गाह्रो हुन्थ्यो,’ उनले भने, ‘तै पनि स्टुडियोहरूले थाहै नपाउने गरी काम सक्थेँ।’

त्यो बेला दसपटक मादल ठोकेको छ भने कम्तिमा दुईपटक ‘ब्यालेन्स’ बिग्रिहाल्थ्यो। त्यसैगरी कतिपय ठाउँमा ‘फोर्स’ पुग्दैन थियो। त्यसैले उनी बीचबीचमा रोक्दै अघि बढाउँथे।

‘डिजिटल रेकर्डिङले पनि कमजोरी लुकाउन सजिलो भइदियो,’ उनले भने, ‘यसरी आफ्नो दुःख कसैलाई थाहा नदिएरै काम गरेको थिएँ।’

दसौं दिनमा टाँका खोलेयता उनले शल्यक्रियापछिको औषधि खानु परेन। तर, अर्को अस्पतालका चिकित्सकले दिएको ‘टेपवर्म’ को औषधि खाँदा हुने सुझाव डा. पन्तले दिएका छन्। त्यो औषधि जारी रहेको बुढाले बताए।

‘बीचमा केही नभए अब तीन महिनामा आउनू भन्नुभएको छ डाक्टरले,’ बुढाले भने, ‘मलाई फेरि केही होलाजस्तो लागेको छैन।’

डा. पन्तका अनुसार यस्तो केसमा तीन महिनाभित्र समस्या फेरि बल्झिने सम्भावना हुन्छ। बल्झेछ भने पहिले शल्यक्रिया गरेकै ठाउँमा पुगेर ‘लिजन’ बनाउनुपर्छ। तर, ‘लिजन’ धेरै ठूलो बनाउँदा ‘प्यारालाइसिस’ को खतरा बढ्छ। त्यसैले सकभर नबढाउनु बुद्धिमानी हुन्छ।

‘तर, खड्गजीको केसमा बल्झिने सम्भावना एकदमै कम छ,’ उनले भने, ‘त्यो अवधि पार गरेपछि भने ढुक्कै हुन्छ।’

यस्ता समस्यामा विदेशतिर धेरै चिकित्सकले टाउकामा ब्याट्री जडान गरेर समाधान निकाल्छन्। आफू भने त्यस्तो उपचारको पक्षमा सकभर नरहेको डा. पन्त बताउँछन्।

‘एक त त्यो असाध्यै खर्चिलो हुन्छ। त्यसबाहेक मेरा जापानी गुरुले ब्याट्री नराखेरै जाने पद्दतिमा हात बसालिदिएपछि हाम्रो स्कुल अफ थट नै त्यस हिसाबले विकास भएको छ,’ उनले भने।

मादल बजाएरै जीविकोपार्जन गरिरहेका खड्ग बुढाको दैनिकी शल्यक्रियापछि फेरि सहज भएको छ।

‘अब त एकदमै सुधार भइसकेको छ,’ उनी भन्छन्, ‘टाउकोमा कताकति हल्का दुखेजस्तो भए पनि हातमा एकरत्ति समस्या छैन।’

(copied from Seto Pati)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.