सन् १९५३ मे २९ का दिन बिहान ११:३० बजे नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथामा पहिलो पाइला टेक्न सफल भएका थिए । पहिलो र दोस्रो विश्वयुद्धको समयमा बेलायतले सञ्चालन गरेको ७ वटा अभियानहरू र दोस्रो विश्वयुद्धपछि नेपालतिरबाट गरेका ३ वटा अभियानपछि मात्र विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको आरोहण सम्भव भएको थियो ।

हालसम्मको तथ्यांक हेर्दा लगभग ६५०० जनाले सगरमाथा आरोहण गरिसकेका छन् । सगरमाथामा पहिलोपटक मानव पाइला कसरी टेकियो त ? यसै सन्दर्भलाई यहाँ समेट्ने प्रयास गरिएको छ ।

सगरमाथाको सामान्य परिचय

लगभग २४०० किलोमिटर लम्बाइ रहेको हिन्दु कुश हिमालय पर्वत शृङ्खलाको मध्यपूर्वी भागमा काठमाडौंदेखि उत्तरपूर्वमा रहेको नेपालको पूर्वी पहाडी जिल्ला सोलुखुम्बुको उत्तरतर्फ चिनको सीमासँगै रहेको महालङ्गुर हिम शृङ्खलाको मध्य भागमा अवस्थित संसारको सबैभन्दा अग्लो हिउँचुलीलाई सगरमाथा भनेर चिन्ने गरिएको छ । विश्वको सबैभन्दा अग्लो चुचुरो भएकोले यसलाई सगरमाथा [सगर-आकाश) माथ-गजुर वा शिर)] भनिएको हो। तिब्बतीयनहरू यसलाई चोमोलोङ्मा पनि भन्छन्।

यसको चुचुरोको अवस्थिति २७०५९’१५.८५” उत्तरी अक्षांश तथा ८६०५५’३९.५१” पूर्वी देशान्तरमा रहेको यो हिमाललाई सन् १८४७ देखि संसारको सबैभन्दा अग्लो हिमशिखर भएको कुरा ग्रेट ट्रिगोनोमेट्रिक सर्भे अफ इन्डियाको सर्भेबाट पत्ता लगाइएको हो । नेपालको पर्यटन विभागको तथ्यांकअनुसार हालसम्म ६५०० जतिले सगरमाथाको चुचुरोमा स्पर्श गरिसकेका छन्।

पृथ्वीमा सबैभन्दा धेरै ताजा पानीको भण्डार उत्तरी र दक्षिणी ध्रुवमा छ । ध्रुवीय क्षेत्रबाहेक यो हिमालयन क्षेत्रमा बरफ र ताजा पानीको ठूलो भण्डार रहेको यस क्षेत्रको सबैभन्दा अग्लो बिन्दु सगरमाथाको चुचुरो भएकोले इतिहासमा पहिलोपटक सगरमाथालाई सर मिचियल कर्गले पृथ्वीको तेस्रो ध्रुव भनी नामाकरण गरेका हुन् ।

सगरमाथाको एभरेस्ट नामाकरण

प्राकृतिक श्रोत साधनको खोज अनुसन्धान गरी आफ्नो साम्राज्यवादलाई व्यवस्थित बनाउनका लागि बेलायतले सबैभन्दा पहिला भूगोलको जानकारी लिने रणनीति अपनायो । कुनै पनि क्षेत्रको विस्तृत भूगोलको जानकारीका लागि नक्साको अनिवार्य आवश्यकता हुन्छ ।

सत्रौं शताब्दीमा नै युरोपतिर नक्सा बनाउने र भूगोल र जमिनको पूर्ण जानकारी लिने चलन चलिसकेको भए पनि एसियातिर त्यो समयसम्म नक्सा बनाउने प्रविधि भित्रिसकेको थिएन । यसकारणले पनि ब्रिटिसहरूले आफ्नो सेनाका लेफ्टिनेन्ट कर्णेल विलियम ल्याम्ब्टनको नेतृत्वमा भारतीय प्रायदिपको विस्तृत जानकारी लिनका लागि सर्भे गरी नापनक्सा गर्ने उद्देश्यका साथ सन् १८०२ को अप्रिल १० का दिन हालको भारतको चेन्नई (पुरानो मन्द्रास) बाटग्रेट ट्रिगोनोमेट्रिकल सर्भे अफ इन्डिया नामक एक वैज्ञानिक आयोजना सुरु गर्ने निर्णय गरे।

यसरी अगाडि बढाउने क्रममा ब्रिटिस सर्भेयरहरूले हालको बिहार र उत्तरप्रदेशबाट निकै पर उत्तरतर्फको क्षितिजमा सेता-सेता टलल्क टल्किएका हिउँचुलीहरू देखे र तिनीहरूको अवलोकन समेत गर्न थाले । सन् १८२३ मा विलियम ल्याम्टनको मृत्यु भएपछि उक्त कामको जिम्मेवारी सर जर्ज एभरेस्टको काँधमा आइपर्‍यो। त्यसपछि सन् १८३० मा भारतीय सर्भे विभागको महानिर्देशकको जिम्मा पनि जर्ज एभरेस्टलाई नै दिइयो। उनले जिम्मेवारी लिएपछि सबै हिमाल र पहाडहरूको उचाइ पत्ता लगाउने कार्ययोजना अगाडि सारे ।

नेपाल प्रवेश गर्नका लागि कुनै विदेशीलाई अनुमतिसमेत नभएको नेपालमा बिहार र उत्तरप्रदेशबाट देखिन सम्भवत: सबै हिमालहरूको ब्रिटिस सर्भेयरहरूले त्रिकोणोमितीय विधिबाट अवलोकन गरे । सर्भेका क्रममा पन्ध्रौं चुलीको रुपमा नाम दिइएको नेपालको एउटा हिमाल सन् १८५२ मा गरिएको संगणनाको आधारमा सबैभन्दा अग्लो देखिन आएको तथा उक्त हिमालको नाम सम्बन्धमा एकरुपता नपाइएको कारण त्यसलाई रोयल जियोग्राफिक सोसाइटी लण्डनले सन् १८६५ मा औपचारिक रुपमा आफ्ना पूर्व सर्भेयर जर्ज एभरेस्टको सम्मानमा माउन्ट एभरेस्ट भनी नामाकरण गर्‍यो।

सगरमाथाको आरोहण सम्‍भावनाको पहिलो सपना

यसरी पत्ता लागेको संसारको सबैभन्दा अग्लो चुचुरो वास्तवमा चढ्न सकिन्छ कि सकिँदैन होला त ? भन्ने विषयमा निकै बहस हुन थाल्यो । यसै सन्दर्भमा अल्‍पाइन क्लब अफ ग्रेट ब्रिटेनका अध्यक्ष र हिमाल आरोही तथा सेन्ट जर्ज हस्पिटल लण्डनमा सर्जन पदमा कार्यरत एक जना डाक्टर क्लिन्टन थोमस डिनले पहिलो पटक सन् १८८५ मा संसारको सबैभन्दा अग्लो हिमटाकुरा माउन्ट एभरेस्टको आरोहण गर्न सकिन्छ भनेर एबोभ दि स्नो लाइननामक उनको किताबको“ फ्युचर अफ माउन्टेनियरिङ”च्याप्टरमा उल्लेख गरिदिए ।

यसपछि सन् १८९० मा फेरि सगरमाथाको आरोहण गर्न सम्भव छ कि छैन होला भन्ने विषयमा भारतमा रहेका ब्रिटिस आर्मी अफिसर फ्रान्सिस् योङहज बेण्ड र चार्ली ब्रुसले छलफल अगाडि बढाए । यसलाई सगरमाथा आरोहण गर्ने सम्बन्धमा भएको पहिलो छलफलको रुपमा लिने गरिन्छ।

यी दुई सैनिक अधिकारीहरूले सन् १८९३ मा पहिलो पटक बेलायती सरकारसँग आफ्नो सैनिक संयन्त्रमार्फत् सगरमाथा आरोहण अभियान सुरु गर्न आधिकारिक रुपमा माग गरे । तर, विभिन्न राजनीतिक कारण तथा बेलायतको असजिलो कर्मचारी संयन्त्रले गर्दा तत्काल सम्भव हुने देखिएन ।

जोन नोयलनाम गरेका बेलायती सैनिक अधिकारी भेष बदलेर सन् १९१३ मा सगरमाथाको अवलोकनका लागि तिब्बततिर पसे र नजिकैबाट अवलोकन गर्न सफल भए । यिनी पहिलो विश्वयुद्ध सकिएपछि सन् १९१९ मा बेलायत गई आफ्नो लामो समयको भूमिगत तिब्बत यात्रा र सगरमाथालाई तिब्बतबाट निकै नजिकै गई गरेको अवलोकनको सन्दर्भमा रोयल जियोग्राफिकल सोसाइटी लन्डनको बैठकमा आफ्नो मन्तव्य राख्दै उनीहरूले आफ्नो गौरवपूर्ण हिमालको रुपमा मानेको “माउन्ट एभरेस्ट” को आरोहण गर्न सकिने सम्भावना पनि दर्शाए ।

उक्त बैठकमा उनको यो फिल्ड रिपोर्ट निकै रुचिपूर्वक सुनेपछि “माउन्ट एभरेस्ट” आरोहण गर्नका लागि टोली गठन गरी आरोहण अभियान सुरु गर्नुपर्ने बारेमा धेरैको ध्यानाकर्षण गर्न सफल भए । बेलायतले सैनिकमार्फत् “माउन्ट एभरेस्ट” को आरोहणका लागि औपचारिक सुरुवात गर्ने निर्णय गर्‍यो।

असफल तर चर्चित आरोहण अभियानहरू

सन् १९२० मा बेलायत सरकारले सगरमाथाको अन्वेषणका लागि तिब्‍बतसँग आफ्ना कूटनीतिक निकायमार्फत् औपचारिक अनुमति माग गर्‍यो। तिब्बत सरकारले पनि सगरमाथा आरोहणका लागि तिब्बती भूमि प्रयोग गर्न अनुमति प्रदान गर्‍यो।

यो अभियान सञ्चालन गर्नका लागि कुनै एक निकायबाट मात्र सम्भव नहुने भएकोले सन् १९२१को सुरुवातमै रोयल जियोग्राफिक सोसाइटी र ब्रिटिस अल्पाइन क्लब मिलेर फ्रान्सिस योङहजबेण्डको अध्यक्षतामा “माउन्ट एभरेस्‍ट कमिटी” गठन गरियो। यो समितिले लेफ्टिनेन्ट कर्णेल सि.के. होवार्ड बुरेको नेतृत्वमा जर्ज मेलोरी तथा अन्य पर्वतारोही र सर्भेयरहरू समावेश गरी पहिलो पटक सगरमाथाको आरोहण गर्ने टोलीको गठन गर्‍यो ।

टोलीले सन् १९२१ को वसन्त ऋतुमा तिब्बतबाट सगरमाथा आधारशिविर जाने बाटो पत्ता लगायो । व्हिलर नाम गरेका एक जना सर्भेयरको नेतृत्वको सर्भे टोलीमा भारतीय सर्भे विभागमा कार्यरत एक नेपाली सर्भेयर लालवीर सिंह थापा पनि सहभागी थिए । उक्त टोलीले सगरमाथाको तिब्बती मोहोडातिरबाट लगभग सात हजार मिटरको उचाइसम्म पुगेर फर्कियो र त्यो ठाउँलाई नर्थ कोल नामाकरण गरिदियो ।

यसैगरी सन् १९२२ मा ब्रिटिस सेनाले आफ्नो सेनाका ब्रिगेडियर जनरल सीजी ब्रुसको नेतृत्वमा मेलोरी, इरबिन तथा अन्य १३ सदस्यीय आरोहण दलको घोषणा गर्‍यो । अघिल्लो टोलीले धेरै तथ्यहरू लिएर आएको हुँदा यसपटक ब्रिटिस सेनालाई आरोहण सफल बनाउन सकिन्छ भन्ने ठूलो आशा थियो ।

टोली नेता ब्रुससँग उनको सहयोगीको रुपमा ब्रिटिस आर्मीको छैटौं बटालियनमा लेस नायक पदमा कार्यरत नेपाली गोर्खा सैनिक तेजवीर बुढा पनिसँगै थिए । ठूलो हिमपात र आँधीका कारण तेजवीर बुढासहित ब्रुस र अन्य आरोहीहरू लगभग ८३०० मिटरसम्म पुगे । त्यहाँबाट माथि उक्लिन नसकिने स्थिति देखिएपछि त्यहीदिन एकैचोटी तल ओर्लिए ।

सबैभन्दा पहिलो पटक यो उचाइसम्म पुग्ने पहिलो नेपाली पनि तेजवीर बुढा नै हुन् । जनरल ब्रुसको टोली असफल भएपछि जर्ज मेलोरीसहित १४ जनाको आरोहण टोलीमाथि उक्लियो । अचानक आएको हिमपहिरोले ७ जना शेर्पाहरूको ज्यान गुम्न पुग्यो र आरोहण स्थगित भयो।

बाध्यतावश सन् १९२२ को आरोहण अभियान परित्याग गर्नुपरेकाले माउन्ट एभरेस्ट कमिटी एक वर्ष बृहत् तयारीमा लाग्यो र सन् १९२४ मा ब्रिगेडियर जनरल ब्रुसकै नेतृत्वमा १२ सदस्यीय आरोहण टोलीको घोषणा गर्‍यो । धेरै नै तयारीका साथ गरिएको यो पटक लगभग आठ हजार मिटरमाथि अन्तिम समयमा चर्चित आरोही जर्ज मेलोरी र इरबिन बेपत्ता भए । केहीले यिनीहरू सगरमाथा आरोहण गरेर फर्किने बेलामा हिमपहिरोमा परेर बेपत्ता भएका हुन भनेका पनि छन् । तर, इतिहासले यो कुरा पुष्टि गर्न सकेन ।

८ वर्षपछि सन् १९३३ मा ब्रिटिसहरूले निकै नै तयारीका साथ पर्वतारोही हुग रटलेजको नेतृत्वमा १६ सदस्यीय आरोहण दलको तयारी गरे । खराब मौसमका कारण यो टोलीले पनि आरोहण गर्न नसकी दार्जिलिङ फर्कियो। यसैगरी माउन्ट एभरेस्ट कमिटीले सन् १९३५ मा इरिक सिप्टोनको नेतृत्वमा आरोहणका लागि टोली गठन गर्‍यो ।

उक्त टोलीमा भरियाको रुपमा तेन्जिङ नोर्गे पहिलो पटक सहभागी भएका थिए । सन् १९३६ मा पुन: हुग रटलेज र सन् १९३८ मा बिल तिलम्यानको नेतृत्वमा आरोहण दल गठन गरी तिब्बततिरबाट सगरमाथा आरोहण गर्न पठायो । तर, सफल हुन सकेनन् । यस लगतै दोस्रो विश्वयुद्ध सुरु भएपछि लामो समयसम्म सगरमाथा आरोहण प्रयासहरू स्थगित भए।

सगरमाथा आरोहणमा स्वर्णीम कालको सुरुवात

दोस्रो विश्वयुद्धपछि संसारमा युद्धका कारण कैयौं नयाँ देशहरूको जन्म भएको र कयौं देशहरू अर्को देशसँग गाभिएको परिपेक्षमा सन् १९५० मा तिब्बत भन्ने छुट्टै देशको अस्तित्व रहेन । चीनमा माओत्सेतुङको नेतृत्वमा सञ्चालन भएको सन् १९४९ को जनक्रान्तिपछि तिब्बत चीनमा गाभियो । चीनले विदेशीहरूलाई तिब्बत प्रवेशमा रोक लगाइएको कारणबाट अब यसअघि जस्तो तिब्बततिरबाट सगरमाथा आरोहण गर्न युरोपियनहरूलाई सम्भव भएन ।

तर बि. सं.२००७ सालपछि नेपालमा राणा शासनको अन्त्य भई प्रजातन्त्र आएकोले नेपालमा विदेशीहरूलाई निषेध गरिएको प्रवेशलाई खुकुलो बनाइयो। यही अवसरलाई सदुपयोग गर्दै सन् १९२१ देखि अधुरै रहेको सगरमाथामाथि विजय गर्ने बेलायती धोकोलाई पूरा गर्ने हेतुले रोयल जियोग्राफिक सोसाइटीले नेपाल सरकारबाट सगरमाथा आरोहणका लागि अनुमति प्राप्त गर्‍यो।

बेलायतले यसअघि तिब्बती मोहोडाबाट सन् १९३३, १९३५, १९३६ र १९३८ मा सगरमाथा आरोहण अभियानमा सहभागी भइसकेका प्रख्यात ब्रिटिस आरोही इरिक सिप्टोनलाई टोली नेता बनाउने निर्णय गर्‍यो । यो टोली सन् १९५१ मा विराटनगरस्थित जोगबेनी नाकाबाट नेपाल प्रवेशगरी धरान, धनकुटाहुँदै भोजपुरको दिङला पुग्यो । तत्कालीन समयका न्युजिल्याण्डका चर्चित आरोही एडमण्ड हिलारीले समेत ब्रिटिस सगरमाथा आरोहण अभियानमा सहभागी हुन चाहेकोले उनलाई पनि ब्रिटिस अभियानमा सहभागी गराउने निर्णयानुसार समावेश गराइयो र उनी ब्रिटिसहरू हिँडेको बाटो पछ्याउँदै भोजपुरको दिङलामा भेट भए र सँगै त्यहाँबाट सोलुखुम्बुतिर लागे ।

उनीहरू पुमरी हिमालको माथिसम्म चढी पूर्वतिर रहेको सगरमाथा आरोहणका लागि बाटो पत्ता लगाएर खुम्बु आइसफलतिरबाट हुँदै साउथकोलबाट आरोहण सम्भव हुने निष्कर्ष निकाल्दै सन् १९५२ को वर्षभरि आरोहण तयारी गर्ने र आउने वर्षहरूमा आरोहण सम्पन्न गर्ने उद्देश्यका साथ फर्किए ।

तर, सन् १९५२ मा स्विस आरोहण टोलीले यसअघि ब्रिटिस अभियानमा सन् १९३५ देखि काम गर्दै आएका नेपालका तेन्जिङ नोर्गे शेर्पालाई समेत आफ्नो टोलीमा सहभागी गराई लगभग ८४५० मिटरसम्म पुगेर फर्किएको कुरा एकाएक बेलायतीहरूले थाहा पाए। बेलायतीहरू सगरमाथालाई आफ्नै निजी हिमाल सम्झन्थे र उनीहरूको प्रतिष्ठाको विषयको रुपमा लिने गर्द’थे । यो हिमाल आफूहरू नै सबैभन्दा पहिला चढ्नुपर्ने सोच्द’थे। यसकारण उनीहरूले सन् १९५३ को वसन्त ऋतुमा सगरमाथाको जसरी पनि आरोहण सम्पन्न गर्ने उद्देश्यका साथ बेलायती सेनाका लेफ्टिनेन्ट जनरल जोन हन्टको नेतृत्वमा १४ सदस्यीय आरोहण टोलीको गठन गरे । तेन्जिङ नोर्गे शेर्पालाई पनि यो टोलीमा सरदारको रुपमा सहभागी गराइएको थियो ।

वास्तवमा तेन्जिङले ठूलो मौका र संयोगवश उनीले यस टोलीमा काम गर्न पाएका थिए । बिख्यात स्विस आरोही ल्याम्बर्ट सँगै तेन्जिङले अघिल्लो वर्ष सगरमाथाको बाल्कोनी (८४५० मिटर) सम्म पुग्न सफल भएकोले तेन्जिङको अनुभव मजासँग प्रयोग गर्न पाइने भएको कारणबाट पनि यिनलाई ब्रिटिसहरूले आफ्नो यो ऐतिहासिक टोलीमा अनुबन्धन गराएका थिए ।

सन् १९५३ मा भक्तपुरबाट हिँडेको ब्रिटिस आरोहण टोली लगभग १७ दिनमा सोलुखुम्बुको तेङबोचेमा पुगी त्यहाँ केही दिन आराम गरी सगरमाथा आधारशिविरमा पुग्यो। त्यहाँबाट केही दिन लगाएर खुम्बु आइसफलको बाटो खोल्ने काम गरियो र विभिन्न स्थानमा क्याम्पहरू बनाउँदै सामानहरू माथि ओसार्ने काम समेत गरियो । १९५३, मे महिनाको १५ पछि समिट प्लान तय भयो ।

यो ब्रिटिस अभियान भएकोले टोली नेता जोन हन्टले सबैभन्दा पहिला बेलायती आरोही चार्ली इभान र टोम बोर्डिलोनलाई साउथकोलबाट अन्तिम समिटका लागि चुचुरोमा पठाए । तर, उनीहरू लगभग ८७५१ मिटर उचाइको साउथसमिटसम्म पुगे र त्यहाँबाट माथि जान नसकी तल फर्किए । त्यसपछि मात्र उनीले तेन्जिङ र हिलारीलाई माथि जानका लागि सहमति दिएका हुन् ।

मे २८ को बिहानै नोर्गे र हिलारी साउथकोलबाट माथि उक्लिए। उनीहरूले ८४५० मिटरको उचाइमा अवस्थितहाल बाल्कोनी भनिने स्थानमा पुगी नवौं क्याम्पको स्थापना गरी त्यो रात त्यही बिताए।

२८ मेको त्यो अत्यन्त चिसो रात हावाहुरी चलिरहेको थियो । तेन्जिङले पानी बनाउनको लागि टेन्ट पछाडिबाट केही हिउँको टुक्राहरू आइस एक्सको मद्दतबाट काटेर ल्याए रपगाल्नका लागि स्टोभ सल्काई उपलब्ध खानेकुराहरू रुचिअनुसार खाएर आराम गरे।

रात छिप्पिँदै गएपछि हावाहुरी पनि केही कम हुँदै गएको अनुभव गरे । भोलिपल्ट बिहानै टेन्टबाहिर हिलारी र तेन्जिङले टेन्टबाहिर नजर डुलाउँदा साउथ समिटमा पहेँलो घाम टलक्क टल्किरहेको देखे । उनीहरू तुरुन्तै आफ्नो अक्सिजन र पानीको बोतल बोकेर त्यहाँ क्याम्पबाट साउथ समिटतर्फ लागे र बिहानको लगभग ९:३० बजे साउथ समिटमा पुगे । जुन स्थानबाट चार्ली ईभानहरू तीन दिनअघि फर्किएका थिए ।

साउथ समिट र चुचुरोबीचको पानी ढलोको धार नियालेर अवलोकन गरे । मौसम राम्रो भएकोले अवलोकन गर्न सजिलो पनि थियो । त्यहाँ आइस एक्सको मद्दतबाट चट्टानको ग्यापमा हिउँ खनेर पुर्ने र पाइला राख्ने ठाउँ बनाउँदै उनीहरू अगाडि बढे र यो क्रम लगभग दुई घण्टासम्म निरन्तर चलिरह्यो ।

केही समयपश्चात् तेन्जिङले लगभगसम्म परेको धार देखे र त्यहाँबाट अगाडि कुनै चट्टानी धार वा हिउँको धार देखेनन्, बरु तलपट्टि नर्थकोल र रोङबुक ग्ल्यासियर पो देखियो । समय बिहानको ११:३० बजिसकेको थियो । यताउति हेर्दा त उनीहरूले यो थाहा पाए कि उनी त सबैभन्दा अग्लो स्थानमा आइपुगेका रहेछन्, सगरमाथाको चुचुरोमा, सपनाको चुचुरोमा ।

बेलायतमा यो समाचार जुन १ तारिखका दिन पुग्यो । भोलिपल्ट जुन २ तारिखका दिन बेलायती महारानी एलिजावेथ द्वितीयको राज्याभिषेक गर्ने कार्यक्रम थियो । सन् १९२१ देखि आरोहण गर्न सुरु गरेको बेलायती सैनिक आरोही टोलीले भोगेका कयौं असफलताका बाबजुत यसपटक ब्रिटिस सगरमाथा आरोहण महाअभियानकै दुई जना टोली सदस्यहरूले सफलतापूर्वक आरोहण गर्न सक्नु वास्तवमा चानेचुने परिघटना थिएन ।

विश्वविख्यात बेलायती पत्रिका टाइम्सले यो एउटा ऐतिहासिक क्षण भएको र यो आरोहण अभियानको सफलताले ब्रिटिस साम्राज्यको विजयको एउटा महत्वपूर्ण हिस्साको रुपमा बेलायती नागरिकहरूले गर्वानुभूति गरेको भनेर लेखेको थियो ।

ब्रिटिस चर्चित कवि रुपेट ब्रुकले सगरमाथा आरोहण सम्बन्धमा गरेको एउटा भविष्यवाणी ‘ब्रिटिसहरूले जसलाई उनीहरूले पहिलोपटक मापन गरे, जसमाथि जहाजबाट पहिलोपटक उडेर फोटो खिचे र जसको खोजमा धेरैले ज्यानको आहुती समेत दिए ।

त्यसकारण एक दिन अवश्य नै बेलायती आरोहीहरूले नै संसारमा पहिलोपटक सगरमाथाको आरोहण गर्न सफल हुनेछन्” भनेर संक्षिप्त व्याख्या गरेका थिए । उनको त्यो भविष्यवाणीअनुसार बेलायती नागरिकहरूले पटकपटक सगरमाथा विजय गर्ने अथक प्रयास सफल नभए पनि बेलायती नागरिककै नेतृत्वमा रहेको बेलायती अभियान टोलीका सदस्यहरूले पहिलोपटक चुचुरोमा पाइला राख्न सफल भए ।

(इन्जिनियर खिमलाल गौतम दुई पटक सगरमाथा आरोहण गरेका नेपालको पहिलो निजामती कर्मचारी हुन्। उनी सगरमाथा मापनको समिट अब्जरभेसनका नेपाली टोली नेतासमेत हुन्)

(Copied from Online Khabar)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.