छातीको समस्याले नर्भिक अस्पताल भर्ना भएका वरिष्ठ गीतकार रत्नशमशेर थापाको बिहीबार निधन भएको छ। उनी ८२ वर्षका थिए।

उनलाई बुधबार साँझ अस्पताल भर्ना गरिएको थियो। अस्पतालले उनलाई आइसोलेसनमा राखेको थियो। त्यसै क्रममा उनको निधन भएको हो। निधनको कारण भने अहिलेसम्म थाहा दिइएको छैन।

‘बिहानसम्म सामान्य हुनुहुन्थ्यो,’ अस्पतालमा कुरुवा बसेकी उनकी साली जगदिश्वरी बस्नेतले भनिन्, ‘बिहान चिकित्सकले हेरेपछि वार्डमा लैजाने कुरा चलिरहेको थियो। अचानक दिउँसो करिब साढे १२ बजे निधन भएको जानकारी दिइयो।’

चिकित्सकले मृत्युको घोषणा गरे पनि अहिलेसम्म रिपोर्ट नदिएको उनले बताइन्। चिकित्सकहरूले उनको स्वाब परीक्षणको रिपोर्ट पर्खेर बसेको बताएका छन्।

करिब तीन महिनाअघि रत्नशमशेरको टिचिङ अस्पताल महाराजगन्जमा मेरुदण्डको शल्यक्रिया गरिएको थियो। त्यसयता उनी घरैमा आराम गरिरहेका थिए। बुधबार राति घाँटीमा खकार अड्केर गाह्रो भएपछि उनलाई नर्भिक लगिएको हो।

रत्नशमशेरका पुराना साथी एवं वरिष्ठ गायक प्रेमध्वजसँग २०११ सालतिर साथीसंगी हुँदादेखिका सम्झना छन्।

‘रत्न, नारायण गोपाल, म र माणिकरत्न त्यसै बेलादेखिका मिल्ने साथी थियौं,’ उनले सेतोपाटीसँग सम्झना साटे, ‘अब म र माणिक मात्र रह्यौं।’

प्रेम र माणिक जोडीका रूपमा पनि त्योताका लामो समय ‘प्रेम-माणिक’ भनेर चिनिएका थिए। यो २०१६ सालतिरको कुरा हो।

‘त्यसअघि नै रत्नले लेखेको ‘यो खोलाको सङ्लो पानी खाई जाउँ खाई जाउँ लाग्छ’ लाई माणिकले गाएको थियो,’ प्रेमध्वजले सम्भवत त्यही नै रत्नशमशेरको पहिलो गीत भएको सम्झना गर्दै थपे, ‘त्यसलगत्तै म र माणिकको जोडी बाँधिएको थियो।’

केही वर्षअघिको भेटमा रत्नशमशेरले २०१४ सालमा पहिलो गीत तयार पारेर आफूले नै गाएको यस संवाददातालाई बताएका थिए। त्यसलगत्तै ‘यो खोलाको सङ्लो पानी’ तयार भएको देखिन्छ।

जोडी बाँधिनेबित्तिकै प्रेम-माणिकले चारवटा गीत तयार पारेर कोलकातामा रेकर्ड गराएका थिए। त्यसैमध्येको एउटा गीत ‘गोरेटो त्यो गाउँको’ पनि थियो, जुन रत्नशमशेरले लेखेका थिए। त्यो प्रेमध्वजकै एक चर्चित गीत बन्न पुग्यो।

रत्नशमशेर र प्रेमध्वजको त्योभन्दा चर्चित गीत त्यसको दस वर्षपछि आयो। ‘घुम्तीमा नआऊ है’ बोलको त्यो गीत सन् १९७२ जुनमा मुम्बईमा रेकर्ड गराइएको थियो।

यसरी साठी वर्षअघि लोकप्रिय गीतहरू लेख्ने रत्नशमशेर र गाउने प्रेमध्वजले १५ वर्षअघिसम्म पनि सहकार्य गरेका थिए। ‘रत्नशमशेरको मुख्य विशेषता भनेकै ‘ट्युन’ मा गीत लेख्नसक्नु हो,’ प्रेमध्वज सम्झना गर्छन्।

‘गोरेटो त्यो गाउँको र घुम्तीमा नआऊ है दुवै गीत पहिले धुन बनाएर सुनाएपछि त्यसैमा शब्द भर्ने काम रत्नशमशेरले गरिदिएका थिए,’ प्रेमध्वजले भने, ‘त्यसरी धुनमै त्यत्तिको प्रभावकारी शब्द भरिदिन सक्ने क्षमताका गीतकार नेपालमा आजसम्म अर्का कोही भएनन्।’

‘गोरेटो त्यो गाउँको’ लाई माणिक र प्रेमध्वज मिलेर धुन भरेका थिए भने ‘घुम्तीमा नआऊ है’ को धुन प्रेमध्वजकै थियो।

‘एक-दुईवटा गजलसहित मैले रत्नशमशेरका थुप्रै गीत गाएको छु,’ प्रेमध्वज भन्छन्, ‘तर, प्रारम्भिक कालका त्यही दुईवटा गीत नै सबभन्दा बढी मनपराइए।’

नारायण गोपालको मामलामा पनि त्यस्तै भएको प्रेमध्वजको ठम्याइ छ।https://www.youtube.com/embed/cr19LfWnRy4?list=RDtkwy6-tTJYE

यसरी प्रारम्भिक समयका गीतकार र एउटै कक्षाका सहपाठी रत्नशमशेरसँग जीवनका पछिल्ला दिनमा भने उनको सुमधुर सम्बन्ध रहन सकेन। बरू अम्बर गुरुङसँग रत्नशमशेरको केही घनिष्ठता देखियो।

अम्बर र रत्नशमशेरको भेट दिल्लीमा भएको थियो। नेपाल आएर त्यो सांगीतिक मित्रता अघि बढेको रत्नशमशेर यस संवाददातालाई सुनाउँथे। त्यति बेला अम्बर कुनै नेपाली फिल्मी गीतको रेकर्ड निम्ति मुम्बई पुगेर फर्कँदै थिए।

नेपाल आएर सम्बन्ध प्रगाढ भएपछि अम्बर गुरुङले रत्नशमशेरका गीतहरूलाई ‘शब्दहरूको पेन्टिङ’ भनेर प्रशंसा गर्न थालेका थिए।

यो परिस्थिति आउनुभन्दा धेरै पहिले २०१७ सालतिर त्रिचन्द्र कलेजमा रत्नशमशेर र नारायण गोपाल साथै आइएस्सी पढ्थे। त्यसै बेला यी दुवैले मिलेर केही गीत बनाएका थिए। रत्नको शब्द र नारायणको संगीतमा।

त्यसमध्येको एउटा थियो- ‘स्वर्गकी रानी मायाकी खानी’।

नारायण गोपालले त्रिचन्द्र कलेजमा पहिलोपटक गाएर सुनाउँदा त्यहाँ अर्का गीतकार यादव खरेल पनि श्रोता थिए।

‘एक त म त्यति बेलै त्रिचन्द्रमा आइएको विद्यार्थी थिएँ,’ खरेलले सेतोपाटीसँग भने, ‘त्यसबाहेक अघिल्लो वर्षदेखि रेडियो नेपालमा कार्यक्रम सञ्चालकको काम पनि गर्न थालिसकेको थिएँ।’

यस्तो अवस्थामा आफूमा सांगीतिक गतिविधिप्रति रुचि असाध्यै बढी रहेकाले कलेजका कार्यक्रमहरूमा पनि चासो बढेको खरेल सुनाउँछन्।

त्यो प्रारम्भिक चरणमै रत्नको शब्द र नारायण गोपालको संगीतमा ‘स्वर्गकी रानी’ बाहेक ‘कुञ्जमा गुञ्जियो’, ‘ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो’, ‘भो भो नसोध अब केही मलाई’, ‘आँखाको भाखा आँखैले’ जस्ता गीत आएका थिए।

‘न्यूरोडको पिपलबोटस्थित इन्दिरा रेस्टुरेन्टमा सहपाठीहरू रत्नशमशेर र नारायण गोपाल जहिल्यै भेटिन्थे,’ त्रिचन्द्रमा विषय फरक भए पनि एउटै ब्याचका खरेलले भने, ‘त्यति बेलै उनीहरूबीच धेरै सहकार्य भएको मेरो अनुमान छ।’

मदिरा कहिल्यै नपिउने रत्नशमशेर कफी र चुरोटका पारखी थिए भने नारायण गोपालमा सबै अम्मल थियो।

‘त्यो समय सांगीतिक हिसाबले असाध्यै महत्वपूर्ण थियो,’ खरेल सम्झन्छन्, ‘म बिएमा पुग्दा नातिकाजी पनि त्रिचन्द्रमै आइए भर्ना भएका थिए।’

खरेलको रत्नशमशेरसँगको पुरानो मित्रता पछिल्लो क्षणसम्मै जारी थियो।

लकडाउन सुरू हुनुअघि टिचिङ अस्पतालमा मेरुदण्डको शल्यक्रिया गराउँदा उनी रत्न शमशेरलाई भेट्न गएका थिए। लडेर घाइते भएपछि रत्नशमशेरलाई टिचिङ लगिएको थियो।

‘त्यति बेलै चिकित्सकहरूले उहाँमा धेरै जटिलता देखिन थालेको बताइसकेका थिए,’ खरेलले थपे, ‘सदैव सक्रिय देखिने उहाँलाई त्यस बखत त्यत्तिकै हेर्दा पनि शरीरले वृद्धावस्थाको असहजता झेल्न थालेको महशुस गरेको थिएँ।’

करिब दुई वर्षअघि मात्र चितवनको कालिका एफएमले दिने सम्मान ग्रहण गर्न खरेल र रत्नशमशेर एउटै गाडीमा नारायणघाट पुगेका थिए।

‘त्यो बेला मेरो छोराले खिचेका भिडिओहरूमा रत्नशमशेरजी फूर्तिलै देखिनुभएको थियो,’ खरेलले सम्झना गरे, ‘त्यो भिडियो असाध्यै सम्पादन गर्नुपर्ने भएकाले तयार हुन समय लाग्यो।’

रत्नशमशेरले धेरैपटक माग्दा पनि परिस्थिति नमिलेकोले भिडिओ बुझाउन नसकेको सम्झँदा अहिले खरेललाई थकथकी लागिरहेको छ।

‘पछिल्लो समय संगीतकार अम्बर गुरुङसँग पनि उहाँको राम्रो सम्पर्क विकास भएको थियो,’ खरेलले भने, ‘गुरुङकै क्वायरमा शब्द लेखेपछि उहाँले आफूलाई नेपालकै पहिलो क्वायर लेखक भनेर पनि चिनाउनु हुन्थ्यो।’

पश्चिमा शास्त्रीय संगीत ‘क्वायर’ को प्रस्तुति अम्बर गुरुङले करिब दुई दशकअघि कमलादीस्थित प्रज्ञा भवनमा गरेका थिए।

‘प्रेमध्वज र नारायण गोपालका प्रारम्भिक गीतहरू नै उहाँलाई स्थापित गराउने शब्दहरू हुन्,’ वरिष्ठ गीतकार खरेलले मूल्यांकन गर्दै भने, ‘तर, पछिल्लो समयसम्म लेखनमा उत्तिकै सक्रिय रहनसक्नु उहाँको विशेषता नै रह्यो।’

वरिष्ठ गायक, संगीतकार तथा गीतकार गणेश ‘रसिक’ ले पनि एउटा समय रत्नशमशेरसँग संगत गरेका थिए।

‘२०३८ सालताका म रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक हुँदा रत्नशमशेरजी सञ्चालक समितिको सदस्य हुनुहुन्थ्यो,’ रसिकले भने, ‘त्यति बेला संस्थानमा सहकार्यदेखि देशव्यापी सांगीतिक कार्यक्रममा पनि हामी दुवै साथसाथै हिँडेका थियौं।’

हकी स्वभावका रत्नशमशेर आफूलाई मनमा लागेको कुरा बोल्न कहिल्यै नडराउने रसिक सम्झन्छन्।

‘उहाँको चिनजान कतिसम्म राम्रो थियो भने,’ उनले सम्झे, ‘विभिन्न सहरमा उहाँका चिनारूहरूले नै हामीलाई आतिथ्य प्रदान गरेका थिए।’

रत्नशमशेर झन्डै ४५ वर्ष उमेर पुग्दासम्म अविवाहित रहेको र यो विषयलाई लिएर उनका पिताले आफूसँग गुनासो गर्ने गरेको पनि रसिक सम्झन्छन्।

एक त जीवनभर कहिल्यै जागिर नखाएको र अर्को स्वतन्त्र किसिमले बाँच्न चाहने स्वभावकै कारण विवाह गर्न हतार नगरेको रत्नशमशेरको भनाइ हुन्थ्यो।

‘पछि २०४१ सालतिर उहाँको विवाह भएको थियो जस्तो लाग्छ,’ रसिकले सम्झे, ‘उहाँको सम्पूर्ण समर्पण संगीत र साथीभाइमै देखिन्थ्यो।’

धेरै चुरोट पिउने, कोठै थर्किने गरी आवाज निकालेर हाँस्ने र ‘मै हुँ’ भन्ने जस्तोसुकैलाई पनि नगन्ने रत्नशमशेरको विशेषता रहेको रसिक सम्झना गर्छन्।

कतिपयले यस्तै स्वभावका आधारमा उनलाई घमण्डी पनि भन्थे। तर, उनी अस्वीकार गर्थे।

‘म स्वाभिमानी हुँ,’ रत्नशमशेरको जवाफ हुन्थ्यो, ‘मैले कहिल्यै कसैलाई खुसी पार्न गीत लेखिनँ। त्यो नै मेरो स्वभाव हो।’

आफूले जीवनभर गीत माग्न आउनेहरूलाई मात्र दिएको, एकपटक पनि गीत लिएर कुनै गायक वा संगीतकारकहाँ नगएको उनी दाबी गर्थे।

‘रत्नशमशेरका प्रारम्भिक गीतहरूमा गाउँघर र स्थानीयपनका बिम्ब सरल हिसाबले झल्किन्थे,’ रसिकले मूल्यांकन गर्दै भने, ‘बीस र तीस दशकबीचका उहाँका गीतहरू साँच्चै गज्जब थिए।’

रसिकका अनुसार रत्नशमशेरका गीत पछिल्लो समय ‘सहरीकरणमा रुमल्लिएको’ थियो। त्यही समय उनले काव्यहरूको प्रयोग गर्न खोज्नेदेखि सिनेमाका निम्ति पनि लेख्न खोजेका थिए। यसले उनका लेखाइ पहिलेजस्तो जम्न सकेनन्।

‘नारायण गोपाल र प्रेमध्वजका प्रारम्भिक समयका गीतहरूले उहाँलाई पछिसम्मै चिनाइरहनेछ,’ रसिक भन्छन्, ‘त्यसबाहेक सुरूमै तयार भएको धुनलाई शब्दले सिँगार्नसक्ने गीतकारका रूपमा उहाँको सम्झना रहिरहनेछ।’

रत्नशमशेरका श्रीमती र दुई छोरा छन्।

(Copied from Seto Pati)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.