नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

चारमध्ये तीन केसको एउटै संयोग छ, मृत्युपछि कोरोना संक्रमण पुष्टि । अर्थात, कोरोना संक्रमण पुष्टि हुनुअघि नै मृत्यु ।

र, सबै मृत्यु विवादित ।

त्यसमध्ये चौथो केसको घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोनाबारे चौथो व्यक्तिको मृत्यु पुष्टि गर्दै भनेका थिए, ‘उहाँको बारे भन्नुपर्दा ट्युबरक्लोसिस (क्षयरोग), दीर्घ स्वाश्वप्रश्वाससम्बन्धी समस्या भएको । सास फेर्न गाह्रो भएर जेठ २ गते वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना हुनु भएको थियो । आईसीयूमा उपचारका क्रममा जेठ ३ गते स्वाब कलेक्सन भएको थियो । नारायणी अस्पतालमा परीक्षण गर्दा शंकास्पद भेटिएपछि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । उहाँको ४ गते मृत्यु भयो ।’

प्रवक्ता देवकोटाले यति मात्र भने । जेठ तीन गते नै संकलन भएको स्वाबको रिपोर्ट आउन ९ दिन किन लाग्यो ? शंकास्पद रिपोर्ट आएका व्यक्तिको शव प्रोटोकल विपरीत किन परिवारलाई दिइयो ? भन्ने विषयमा केही बोलेनन् ।

अर्थात कमजोरी कहाँ, कसरी र कसको भयो ? भन्ने विषयमा उनले प्रष्ट पारेनन् ।

नारायणी अस्पतालका मेसु मदनकुमार उपाध्यायलाई जेठ २ गते नेशनल मेडिकल कलेजले एक जना कोभिड–१९ का शंकास्पद बिरामी आएको, तर स्वाब संकलनका लागि भाइरस ट्रान्सपोट मेडियम (भीटीएम) नभएको भन्दै सम्पर्क गरेको थियो । नारायणीले भीटीएम दिएपछि नेशनलले राति नै स्वाब संकलन गरेर पठायो ।

भोलिपल्ट ३ गते नारायणी अस्पतालको प्रयोगशालाले जाँच गर्दा रिपोर्ट शंकास्पद आयो । ५ गते जाँच गर्दा पनि उनको रिपोर्ट शंकास्पद नै आयो । त्यसबेला अरु स्वाबको रिपोर्ट पनि शंकास्पद आएको थियो । ‘त्यसैले हामीले उनीसँगै अरु ८ जनाको स्वाब ७ गते टेकु पठायौं’ डाक्टर उपाध्यायले अनलाइनखबरसँग भने, ‘उता पनि क्यूमा राख्दा ढिलो भएछ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाकाअनुसार टेकुमा ८ गते स्वाब आइपुगेको बताउँछिन् । उनको अनुसार स्याम्पलमा ‘क्यू सी’ लेख्नु बाहेक अरु सन्देश थिएन । ‘क्यू सी’ अर्थात ‘क्वालिटी कन्ट्रोल’ ।

‘क्यू सी’ लेखिएको स्याम्पल ‘रिकन्फर्म’ गर्न भन्ने बुझिन्छ । जेनेटिक साइन्टिस्ट डा. बलराम गौतमका अनुसार एउटा ल्याबमा पीसीआर पोजेटिभ आएपछि अर्को ल्याबमा पनि पोजेटिभ नै आउने सम्भावना धेरै हुन्छ । तैपनि कतिपय अवस्थामा रि–कन्फर्म गर्न पठाइन्छ । अस्पतालले इमर्जेन्सी जाँच भनेर नपठाएको अवस्थामा त्यसलाई अरु स्वाबको पालो मिचेर जाँच गरिँदैन ।

‘त्यो नमुनालाई पालो आएपछि जाँच गर्दा पोजेटिभ आयो, तर त्यो केस पहिला नै पोजेटिभ घोषणा गरिसकेको हुनसक्ने भएकाले नयाँ पोजेटिभ भनेर पठाउने कि पुरानै भनेर उल्लेख गर्ने भन्ने अलमल भयो’ डा. झा भन्छिन्, ‘त्यसपछि हामीले इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई फोन गरेर सोध्यौं । त्यता सोधेपछि बल्ल पो डेथ भइसकेको केस हो रहेछ भन्ने थाहा भयो ।’

नमुना पठाउँदा नै मृत्यु भइसकेको केस हो भन्ने जानकारी दिएको भए स्वाब आएकै दिन रिपोर्ट आउने झा बताउँछिन् । समन्वय नभएको कारण नै रिपोर्ट ढिलो आएको उनको तर्क छ ।

‘४ गते मृत्यु भएको व्यक्तिको स्वाब ८ गते आउँछ र त्यसमा केही जानकारी दिँइदैन भने हामी के बुझ्ने ?’ डाक्टर झा भन्छिन्, ‘अहिले ल्याबमा धेरै स्याम्पल आएकाले पालो आउन कम्तिमा पनि २ दिन लाग्छ । अर्जेन्ट भनेर जानकारी दिएको केसलाई हामी तुरुन्तै जाँच गर्छौं ।’यो पनि पढ्नुहोसवीरगञ्जमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

त्यसो भए नारायणी अस्पतालले रिकन्फर्मका लागि स्वाब पठाउँदा किन मृत्युबारे खुलाएन त ?

मेसु उपाध्यायकाअनुसार नेशनल मेडिकल कलेजले स्वाब पठाउँदा बिरामीको पूर्ण जानकारी दिएको थिएन । मृत्यु भइसकेपछि पनि औपचारिक जानकारी गराउने वा कोरोना परीक्षणको रिपोर्ट आउन भएको ढिलाईबारे सोधीखोजी गरेन ।

‘स्वाब परीक्षणको नतिजा नआउँदै शव घर पठाएर अस्पतालले अर्को गल्ती गर्‍यो’ मेसु उपाध्याय भन्छन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहाुर बस्नेतका अनुसार नेशनल मेडिकल कलेजले कोरोना आशंका गरिएको बिरामीको मृत्यु भएको कुनै जानकारी गराएको थिएन । उनले भने, ‘यसबारे सञ्चार माध्यमहरुले सोधीखोजी गरेपछि बल्ल थाहा पायौं । यसबारे जानकारी नगराउनु राम्रो नियत देखिएन ।’

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले घटनाबारे सत्यतथ्य छानविन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको बस्नेतले जानकारी दिए ।

खास के भएको थियो वीरगञ्जमा ?

अहिलेसम्म प्राप्त सूचनाअनुसार नेशनल मेडिकल कलेजलाई मृतक कोरोना शंकास्पद भएको थाहा थियो । किनकी, अस्पतालले शंकास्पद बिरामी भन्दै नारायणी अस्पतालमा स्वाब पठाएको थियो । नारायणीले कोरोना नेगेटिभ आएको भनेको थिएन ।

आफैंले कोरोना आशंका गरेको विरामीको मृत्यु भएपछि अस्पतालले कोरोना परीक्षण रिपोर्ट कुरेन ।

शंकास्पद बिरामीको मृत्यु भएपछि कोभिड–१९ सम्बन्धी जिल्लास्तरीय संयन्त्रसँग पनि समन्वय गरेन । जबकी कोरोनाबाट मृत्यु भएको व्यक्तिको दाहसंस्कार गर्न छुट्टै प्रोटोकल छ । शव परिवारलाई बुझाउन मिल्दैन, सुरक्षा निकायले व्यवस्थापन गर्नुपर्छ ।

शववाहन चालक तथा कर्मचारीले पीपीई लगाउनुपर्छ भने अन्त्येष्टिमा सहभागी हुने आफन्तले पनि सुरक्षा उपाय अपनाउनुपर्छ ।

त्यस्तै शव जथाभावी सदगत गर्नु हुन्न । मृतकको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्न सकिन्छ तर सदगतमा सहभागी हुन सबैले पीपीई, पञ्जा, चस्मा, टोपी, मास्कलगायतको प्रयोग गरेर पनि एक मिटर परैबाट धार्मिक प्रक्रिया पूरा गर्नुपर्छ ।

तर नेशनल मेडिकल कलेजले न रिपोर्ट कुर्‍यो, न अन्त्येष्टि प्रक्रियाको प्रोटेकल सम्झियो ।

परिवारलाई शव बुझ्न भन्यो । अस्पतालले कोरोना संक्रमणबारे केही नभनेर सामान्य मृत्यु जसरी शव बुझ्न भनेपछि दुई छोराले पनि शव बुझेर एम्बुलेन्समा गाउँ लगे । आफ्नो धार्मिक परम्परा पुरा गर्दै घरबाट झण्डै डेढ किलोमिटर दुरीमा रहेको घाटमा अन्त्येष्टि गरे । ५० भन्दा बढी मलामी गएका थिए ।

मृतकका जेठा छोराले अनलाइनखबरसँग भने, ‘बुबाको शव बुझ्दै गर्दा पनि अस्पतालले उहाँ कोरोनाको शंकास्पद हो भनेर केही भनेन ।’

मृतकका जेठा छोराले बताएअनुसार केही दिन अघि मात्र अस्पतालले फोन गरेर, तपाईंको बुबाको निधन भएको ४ गतेको हो कि ८ गतेको भनेर सोधेको थियो । ४ गते भनेर बताएपछि अस्पतालले फोन राखिदिएको थियो ।

अरु मृत्युको कथा उस्तै

सरकारले जेठ ३ गते कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु भएको घोषणा गरेको थियो । मृतक थिइन् सिन्धुपाल्चोक, बाह्रबिसेकी १० दिनकी सुत्केरी ।

र, त्यसबेला जनस्वास्थ्य विज्ञहरु भनेका थिए, ‘यो कोरोनाको कारण मृत्यु भन्दा पनि हत्या हो ।’

उनीहरुको तर्क थियो, ‘समयमै कोभिड–१९ परीक्षण गरेको भए सुत्केरीलाई अस्पतालमै उपचार गरिन्थ्यो । र, उपचार नपाएकै कारणले मृत्यु नहुनसक्थ्यो ।’

महिलाको ट्राभल हिस्ट्री त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, गाउँकै स्वास्थ्य चौकी र धुलिखेल अस्पताल थियो । यसरी तिन वटा स्वास्थ्य संस्था धाउँदा र श्वासप्रस्वासमा समस्या आउँदा पनि उनको कोभिड परीक्षण भएको थिएन ।

जब मृत्यु भयो, तब मात्र परीक्षण गरियो । उनलाई कोरोना संक्रमण पुष्टि हुँदा मृत्यु भएको झण्डै दुई दिन भइसकेको थियो । सरकारको गम्भीर लापरवाहीका कारण सुत्केरी महिलाको मृत्यु भएकाले जनस्वास्थ्य विज्ञहरुले हत्या भनेका हुन् ।

दोस्रो मृत्यु पनि त्यस्तै रह्यो । बाँके नरैनापुरको एक २५ वर्षीय युवकलाई जेठ ३ गते ज्वरो आएको थियो भने वान्ता हुुनुका साथै स्वास प्रश्वासमा समस्या आयो । क्वारेन्टाइनस्थलबाट उनलाई अस्पतालसम्म लैजाने कोही भएन । केही घन्टासम्म क्वारेन्टाइन स्थलमै छटपटाउँदा पनि उपचार पाएनन् र, ४ गते विहान ३ बजेतिर प्राण त्यागे । मृत्युपछि कोरोना संक्रमण पुष्टि भयो ।

जबकी विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइनस्थलमा पीपीई लगाएका स्वास्थ्यकर्मी, सुरुक्षाकर्मी र चालकसहित एम्बुलेन्स हुनुपर्ने उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको प्रोटोकलमा पनि क्वारेन्टाइन स्थलमा अनकल डाक्टरका साथै नर्स, एम्बुलेन्स अनिवार्य भनिएको छ ।

त्यसैले क्वारेन्टाइन स्थलमा भएको यो मृत्युलाई पनि जनस्वास्थ्य विज्ञहरुले स्वभाविक मानेनन् ।

गल्ती कहाँ भइरहेको छ ?

स्याम्पल कलेक्सन गर्दा प्राथमिकता नछुट्याउँदा मानिसको मृत्यु भइसकेपछि मात्र संक्रमण भएको रिपोर्ट आउने जनस्वास्थ्य विज्ञ डाक्टर केदार बराल बताउँछन् ।

क्वारेन्टाइन तथा आइसोलेसनमा बसेका र आईसीयूमा भर्ना भएकाहरुको स्वाब ल्याबमा पठाउँदा जानकारी दिए मात्र पनि यस्ता घटना नदोहोरिने उनको कथन छ ।

‘शंकास्पद मानिस देख्नासाथ स्वाब कलेक्सन गरेर ल्याबलाई अर्जेन्ट भनेर पठायो भने यस्तो घटना दोहोरिँदैन’ डा. बराल भन्छन्, ‘तर हामीकहाँ शंकास्पद भनेर जान्दाजान्दै स्वाब कलेक्सन गर्न ढिलो भएको छ, त्यसपछि पनि प्राथमिकतामा राखेर ल्याबमा पठाउन ढिलो भएको छ ।’

(Copied from Online Khabar)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.